रौतहटको कटहरियामा १५ बेडको अस्पताल भवन निर्माण सुरु
टुडेपाटी–
रौतहट, पुस १ गते ।
रौतहटको एक स्थानीय तहमा १५ बेडको अस्पताल भवन निर्माणको काम सुरु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिकामा नगर प्रमुख सियाराम कुश्वाहाले हिन्दु परम्परा अनुसार विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो ।
संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो ।
२ वर्ष भित्र कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ केन्द्रको भवन निर्माण गर्नुपर्नेछ । चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले निर्धारीत समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
भवन निर्माणपछि कटहरिया नगरपालिकाका जनता उपचारका लागि बाहिर जानुपर्ने झन्झटबाट मुक्त हुने उनले बताए ।
Sponsored