राजनीतिक दबाबमा मिर्चैयाका डीएसपीको सरुवा
टुडेपाटी-
सिरहा, कार्तिक २६ गते ।
सिरहा । प्रहरी प्रधान कार्यालयले बिहीवार ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सुरुवा गर्यो । यसमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख एवं डीएसपी राजेन्द्र श्रेष्ठ पनि परे ।
डीएसपी श्रेष्ठको राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय तनहुँमा सरुवा भएको छ । सरकारी कार्यालयका प्रमुखको कार्याकाल न्यूनतम एक वर्षको हुन्छ । उनको मिर्चैयामा साढे १० महिना बितेको छ ।
तर, नियमित सरुवा हुन डेढ महिना बाँकी नै रहँदा उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले श्रेष्ठलाई किन हटाइएको हो भन्नेबारे केही खुलाएको छैन । तर, अवधि नपुगीकन सरुवा भएका कारण उनको सरुवाबारे विभिन्न अड्कालबाजी भने भइरहेको छ ।
स्रोतका अनुसार, राजनीतिक दबाबमा उनलाई अवधि नपुगी अन्यत्र सरुवा गरिएको हो । माओवादीको एउटा समूहले उनको सरुवाका लागि राजनीतिक नेतृत्वलाई दबाब दिएको श्रोतको दावी छ ।
अधिकांश अपराधिक घटनामा सिफारिस गर्ने यो समूहको अनेकन दबाबका बाबजुद डीएसपी श्रेष्ठ टसमस भएनन् । उनी न्यूट्रल भएर काम गर्न चाहन्थे । यसैकारण यो समूह डीएसपी श्रेष्ठसँग चिढिएका थिए ।
Sponsored
सर्वसाधारण मान्छे अहिले पनि प्रहरी कार्यालय आउन डराउँछन् । तर, उनले मिर्चैयाको प्रहरी कार्यालयलाई भयमुक्त मात्रै बनाएनन्, प्रहरी मेरो साथी भन्ने नारालाई व्यवहारमा उत्तारे । कुनैबेला डर मान्ने सर्वसाधारण सिधै डीएसपीलाई नै भेटेर आफ्ना कुरा सुनाउँथे ।
राजनीतिक दबाबमा अलपत्र पारिएका विभिन्न मुद्दालाई अगाडि बढाएर अदालतसम्म पुर्याएका उनले जिल्ला प्रहरी कार्यालय सिरहाबाट उत्कृष्ट प्रहरी कर्मचारीको पुरस्कार पनि पाएका छन् । मिर्चैयामा नयाँ प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय निवाकोटबाट सरुवा भएर डीएसपी हरिबहादुर ओली आउँदैछन् ।