ई–रिक्साको कारण अस्तव्यस्त जनकपुरधाम
टुडेपाटी–
जनकपुरधाम, कात्तिक २२ गते ।
ई–रिक्साको अत्यधिक चापका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरले ई–रिक्सा व्यवस्थापन तर्फ ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।
नगरमा अत्यधिक ई–रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामानन्द चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडासमेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयको गुनासो छ । नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको समेत स्थानीयहरु बताउँछन् ।
जनकपुरधाम उपमहानगरमा दर्ता भए पनि रिक्साका लागि रूट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रूट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयको गुनासो छ ।
जनकपुरधाम उपमहानगरकी उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई–रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन् । छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने उनले बताइन् ।
उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताइन् ।
Sponsored