TodayPati

‘डा.साब तपाई प्रतिको सम्मान अब बाँकी रहेन’

डा. सिके राउत जी,
बिहीबार दिउँसोसम्म तपाईप्रति सम्मान बाँकी नै थियो । तर, एउटा कार्यालयको कारण तपाईको घरको बाटो अवरूद्ध हुँदा त्यस कार्यालयको एउटा जाबो निमित्त हाकिमलाई अर्धनग्न पारेर नगर घुमाउने मृत्यु भन्दा ठुलो सजाय दिने तपाईको रबैया कुनै तुच्छ शासककोभन्दा कम लागेन । हरेक नगरमा धेरै त्यस्ता गल्लीहरू छन्, जुन एकदमै बिकराल अवस्थामा छन् । आवत जावत महिनौका लागि अवरुद्ध हुन्छ । तर, के तपाईको कार्यकर्ताहरूले त्यहाँको मेयर त के वडाध्यक्षलाई नै त्यसरी नाङै पारेर घुमाउने आँट राख्छ त ? डा. साब, कर्मचारी व्यवस्थाको दास हो र यो सत्य नेपालमा मात्र हैन, विश्वभरि नै लागु हुन्छ। यदि कोही कर्मचारीले गल्ती गरेको छ र व्यवस्थाले उसलाई संरक्षण गरेको छ भने समस्या व्यवस्थामा रहेको हुन्छ । समस्या व्यवस्थाको मुखियामा रहेको हुन्छ। तर, तपाईले व्यवस्थाको मुखियालाई नछोइ एउटा निहत्था कर्मचारीलाई सिकार बनाएर आफ्नो राजनीति स्थापित गर्ने जुन दुस्प्रयत्न गर्नु भयो, यसले तपाईलाई नै नङ्याइदिएको छ।

डा. साब तपाईले विगतमा दुईचार शब्द गलत बोलेकै हो । चाहे त्यो नेपालको बारेमा होस वा मधेसमा साम्प्रदायिकता भड्काउन जनकपुर क्षेत्र वरिपरि केहि सिमित क्षेत्रमा नेतृत्व गरेको अल्पसंख्यक मैथिल ब्राम्हण समुदाय प्रति लक्षित गरेर होस् । तर, त्यतिन्जेल तपाईका ती शब्दहरु वर्षौंदेखि मधेशी समुदायको उत्पीडनबाट प्रस्फुटित आक्रोशको रूपमा मात्र लिएको थिएँ। पुलचोक कलेजको टपर आमेरिकाबाट लाखौंको जागिर छोडेर आएको व्यक्तिको वौद्धिकताबाट बिगतदेखि नै निकै प्रभावित युवाहरू मध्ये म पनि एक थिएँ । र त्यो कुरा तपाईलाई पनि राम्ररी थाहा छ।

तपाई नेपाल सरकारको कारण भूमिगत शैलीमा लुकि रहँदा तपाइको समूहलाई कार्यक्रम गर्नका निम्ति पुलचोक ईन्जिनियरिङ कलेजको हल नेपाल तराई विद्यार्थी नवजागरण संघको कार्यक्रमका निम्ति भनेर उपलब्ध गराएकै हुँ । तपाईको सुनधाराको कार्याक्रमका लागि प्रचार सामग्री पुलचोक होस्टलमा लुकाएकै हो । कार्यक्रमहरूमा हुलका हुल विद्यार्थी लगेकै हुँ । तपाई पक्राउ परी विषेश अदालतमा पेशी रहँदा आफ्नो परीक्षाको समयमा पनि तपाईको समर्थनमा पुगेकै हुँ । झण्डै फाउण्डेशन ईन्जिनियरिङको परीक्षाबाट फेल हुनबाट बचेकै हुँ ।

Sponsored

सांसद भवनको सबै भन्दा नजिक एभरेष्ट होटल सामुन्नेदेखि यु.एन. हाउससम्म तपाईको रिहाईका लागि आवाज उठाएकै हुँ । पुलिसले पक्राउ गरी भविष्य नै चौपट हुने डर हुँदाहुँदै पनि तपाईको लागि साथीहरूलाई सम्झाउने तथा तपाईको पुस्तकहरू पढेर साथीहरु बिच चर्चा गर्ने र आन्दोलनमा सहभागी पनि भएकै हुँ । कारण एक मात्र थियो, मधेसका अरू नेताहरूले दिएको असन्तुष्टिहरू बिच पुलचोक ईन्जिनियरिङ कलेजमा उत्कृष्ट भएको एक विद्यार्थी जापान र अमेरिका हुँदै नेपाल फर्केको एक व्यक्तिमा देखिएको मधेस मुक्तिको सम्भावना मात्र थियो।

तपाईको एजेण्डा परिवर्तन हुनु पनि सामान्य नै लागेको थियो । दक्षीण अफ्रिकामा काला र गोरा मिलेर बस्न सक्छन भने नेपाल मा किन मधेसी र पाहाडी मिलेर बस्न सक्दैन, आखिर शान्तीपुर्ण रूपले नै त्यो पनि हाँसिल भएको थियो । तपाईको साथमा नभए पनि मधेशमा वैकल्पिक शक्ति सम्भावना तपाईमा देखेकै हुँ ।

तर, केही दिन अघि मात्र तपाईले आफ्नो गाडीको अगाडी किम जोङ उन स्टाईलमा आफ्ना टिन्ही हिरो कार्यकर्ताहरुलाई परेड खेलाउदा तपाईको चरित्र त्यति उदाङो भएको थिएन, जति आज आफ्नो घरको बाटो अवरुद्द भएकै कारण एउटा कर्मचारी लाई अर्धनग्न घुमाउदा तपाईको आफ्नै प्रवृति नाङिएको छ।

Sponsored

के अरु उपाए छँदै थिएनन त ? शान्तिपूर्ण आन्दोलनले कस्तो कस्तो तानाशाहको पतन गरेको इतिहास साक्षी हुँदै गर्दा तपाईलाई विरोधको अरु विकल्प सुझेन ? के तपाईले आदर्श मानेको दक्षिण अफ्रिकाका पिता नेल्सन मण्डेलाले यही प्रवृति अपनाएका थिए ? के गान्धीले यसरी नै अंग्रेज धपाएका थिए ? के वुद्धले तपाईलाई यही सन्देश दिएका थिए ? जे होस्, म बिगतमा पनि गलत थिएँ र आज दिउँसोसम्म पनि गलत नै थिएँ तपाईको बारेमा । तर, आज दिउसो तपाईको प्रवृति स्पष्ट भयो । यति लेख्दै गर्दा ती व्यक्ति वास्तवमा भ्रस्ट्राचारी हुन् भनेर मलाई थाहा छैन । तर, एउटा कर्मचारी भएको नाताले एक कर्मचारीले काम गर्दा झेल्नु पर्ने समस्याबाट अनभिज्ञ छैन ।

चाहँदा नचाहँदै कहिले ठेकेदारले कुरा मानेको हुदैन, त कहिले अनेकौं दबाबको सामना गर्नु पर्ने हुन्छ, त कहिले कानुनी प्रकृयाले नै गर्दा समय लम्ब्याएको हुन्छ । जागिर छोडदेउ तपाईले भन्नु होला, त मालिक अमेरिकाबाट डलर कमाएर आएको छैन । परिवारले नेपालमै बसेको देख्न चाहन्छ र फोकटमा बसेर खानको लागी बपौटी सम्पति त्यति छैन। तर देख्ने छु तपाईलाई पनि, आफ्नो कार्यकर्ताबाट भ्रस्ट्राचार भए वा कुनै हेलचक्राई वा जानअनजानमा कुनै गल्ती गरे त्यसरी नै नाङ्गो पारेर घुमाउनु हुन्छ वा सामान्य कारबाही गर्नुहुन्छ कि संरक्षण गर्नुहुन्छ। उही तपाईले चिनेकै पुलचोकको केटा कार्तिकेश झा ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *