रौतहटमा रोकिएन लागूऔषध राखेर फसाउने क्रम, ४ जना पक्राउ
टुडेपाटी-
रौतहट, असोज २६ गते ।
रौतहटमा मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजेको आरोपमा चारजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने पुनम उपाध्याय, गुजरा नगरपालिका–३ बस्ने उमाशंकर तिवारी, पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी टोल बस्ने सुनिता यादव र वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने नैना कुमारी मण्डल रहेकी छन् ।
पक्राउ परेका चारै जना मिलेर पूर्वयोजना अनुसार गुजरा नगरपालिका वडा नम्बर ३ सिमरा टोल बस्ने विजय शंकर तिवारी र वडा नम्बर १ भसेडवा बस्ने रामलाल महतो कुशवाहालाई फसाउनको लागि दुबै जना चढेर आएको मोटरसाइकलमा लागुऔषध राखेका थिए ।
उनीहरुले तिवारी र कुशवाहालाई खाना खान भनि कोठामा बोलाउँदा ना १९ प ६७३३ नम्बरको मोटरसाइकलमा पुगेका दुबैजनाको मोटरसाइकलमा पक्राउ परेका चारैजनाले लागुऔषध राखेर प्रहरीलाई खबर गरेको भनि अनुसन्धानको क्रममा खुलेको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
पक्राउ परेका चारैजनाको साथबाट प्रहरीले लागुऔषध निट्राजेपाम ४ पता, निट्राभेट २ सय ९६ पिस, डाईजोपाम ७ वटा, ईन्जेक्सन १६ वटा बरामद भएको चिमरियाले बताए ।
Sponsored
पक्राउ परेका चारैजनालाई आपराधिक षडयन्त्र तथा लागुऔषध शीषर्कमा मुद्दा दर्ता कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
केही दिनअघि रौतहटका पत्रकारलाई समेत लागूऔषध राखेर फसाइएको थियोे ।