वीरगञ्जबाट स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित तीनजना प्रहरीको फन्दामा
टुडेपाटी-
वीरगञ्ज, असोज १५ गते ।
वीरगञ्जमा स्रोत नखुलेको साढे १५ लाख रुपैयाँ नगदसहित तीनजना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
छपकैया–सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज–२५ सिर्सिया छोटी भन्सार अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनीहरुले लगाएको हेल्मेटभित्र फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको खनालले बताए ।
प्रहरीले उनीहरुले प्रयोग गरेको ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ दुवै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Sponsored