राजर्षि जनक विश्वविद्यालय : माग पूरा भएपछि विजयी र्याली, ताला खुल्यो
टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।
राजर्षि जनक विश्वविद्यालय क्याम्पसका विद्यार्थीहरुको माग पूरा भएपछि विजयी र्याली निकालिएको छ ।
भौतिक उपस्थितिमा कक्षा सञ्चालनको माग गर्दै १५ दिन आन्दोलन गरेका विश्वविद्यालयका विद्यार्थीहरुले शुक्रबार जनकपुरको विभिन्न चोकमा विजयी र्याली निकालेको हो ।
त्यस्तै क्याम्पस प्रमुख विनोदकुमार कर्ण र उपकुलपति भरत झाको कार्यकक्षमा लगाइएको तालासमेत खोलेका छन् ।
आन्दोलनमा सहभागी रहेका विद्यार्थीहरुले आज खुसियाली मनाउँदै विजयी र्याली निकालेका हुन् ।
आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ । कोरोना महामारीको विषम परिस्थिति कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने विश्वविद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
Sponsored
विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बीपीएच दोस्रो सेमेष्टर, बीएसी सीएसआइटी दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसकेपनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाएर विद्यार्थीहरु आन्दोलित भएका थिए ।