सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका ३ अभियुक्त जेल चलान
टुडेपाटी-
सिरहा, असार ३१ गते ।
सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनाका आरोपित तीन जना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत सिरहाले घटनाका अभियुक्त मिर्चैया-६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका-६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि गोली प्रहार भएको थियो । मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको देव्रे खुट्टाको तिघ्रा र देव्रे हातको कुहिनामा गोली लागेको थियो ।
प्रहरीअनुसन्धानमा रामसागरका आफ्नै सहोदर दाइ सूर्यदेवले उनीमाथि गोली प्रहार गर्न लगाएको खुलेकाे थियाे ।
Sponsored
सूर्यदेवले पारिवारिक रिसइबी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई ‘सुपारी’ दिई रामसागरको ज्यान लिने प्रयास गरेको कुरा प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।