जनकपुरबाट तीन डाक्टर १० दिनमा किन पुग्न सकेन जलेश्वर अस्पताल ? यस्तो छ रहस्य !
रञ्जन भण्डारी-
महोत्तरी, जेठ ७ गते ।
विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस कोभिड १९ को संक्रमणले देश लडिरहेका छन् । सोहि युद्ध लड्न प्रदेश २ सरकारले पठाएका तीनजना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १४ किलोमिटर दक्षिणमा रहेको जलेश्वर अस्पताल पुग्न अझै सकेका छैनन् ।
प्रदेश सरकारले वैशाख २७ र २८ गते तीनैजना चिकित्सकलाई अर्को व्यवस्था नभएसम्मको लागि जलेश्वर अस्पतालमा रहेको भेन्टिलेटर चलाइदिन कामकाजमा पठाएका थिए । तर एकसाताभन्दा बढी बितेपनि उनीहरु अझै जलेश्वर अस्पताल पुग्न नसकेका हुन ।
प्रदेश सरकारले नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधान,सहायक पाचौ एनेस्थेसिया शैलेन्द्र कुमार यादव र मेडिकल अधिकृत डा. सन्त कुमार यादवलाई कामकाजका लागि जलेश्वर अस्पताल जान पत्र काटेको हो ।
यता पत्र काटेको एक साता वितिसकेपनि हालसम्म चिकित्सकहरु जलेश्वर अस्पताल नपुगेपछि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले गत शुक्रवार र शनिवार विदा परेकोले उनीहरु एक दुई दिनमै जलेश्वर अस्पतालमा हाजिर हुने आशा व्यक्त गरे ।
आफुले समेत तीनै जना चिकित्सकलाई जलेश्वरमा विरामीहरु भेन्टिलेटर अभावमा विचल्लीमा परिरहेको स्मरण गराउदै केहि दिन त्यहा सेवा सुचारु गरि अस्पतालमा रहेका चिकित्सकहरुलाई समेत तालिम दिई दक्ष बनाइदिन भनेको बताए । चिकित्सकहरुले समेत सोहि बेला सहमत भएपनि के कति कारणले हालसम्म त्यहा नपुगेको भनेर जानकारी नभएको बताए ।
गत वर्ष नै जलेश्वर अस्पतालमा भेन्टिलेटर सहितको पाच वेड आईसियु र १५ बेड एचडियु जडान भएपनि दक्ष जनशक्ति अभावमै सो संचालनमा आउन सकेको छैन ।
Sponsored
जलेश्वर अस्पतालमा गत साता देखि नै कोरोना संक्रमितहरुलाई अक्सिजन तथा अन्य उपचार दिएर राखिएकोमा सो मध्ये अवस्था विग्रने विरामीलाई तत्काल भेन्टिलेटरमा राख्नु पर्ने तर जलेश्वरमा दक्ष जनशक्ति नै नहुदा उनीहरुलाई अन्यत्र रेफर गरिने गरिएको र रेफर गर्दा अन्यत्र भेन्टिलेटर खोज्दै गर्दा अधिकांश विरामीको मृत्यु हुने गरेको छ ।
जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले सामाजिक संजाल फेसवुकमै तिनैजना चिकित्सकको प्रदेशले काटेको कामकाजको पत्र राख्दै तिनैजना चिकित्सक सम्पर्कमा नरहेको लेखेपछि चिकित्सकहरुको खोजी हुन थालेको छ ।
यता जलेश्वरका स्थानिय तथा बिरामीहरुले समेत तिनैजना चिकित्सकले बिरामीहरुको ज्यानसंग खेल्वाड गर्न खोजेको भन्दै रोष प्रकट गरेका छन । सामाजिक अभियन्ता गुञ्जा राय र सत्येन्द्र यादवले तत्काल चिकित्सकहरुलाई जलेश्वर आएर सेवा दिन आग्रह गरे । अभियन्ता द्वयले १४ किलोमिटरको बाटो काट्न चिकित्सकलाई साता दिन भन्दा वढी लाग्नुले उनीहरुको मनसाय अर्कै रहेको प्रष्ट भएको भन्दै आफुहरु आन्दोलन गर्न पछाडी नपर्ने बताएका छन् ।
भेन्टिलेटर संचालन नभएर जनशक्तिको अभावमा संक्रमित तथा बिरामीहरु मृत्युवरण गर्नु परिरहेको भन्दै अस्पतालका अध्यक्ष सुरेश पाण्डेले आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनले जेठ ५ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापन बुझाएका थिए । तर प्रदेश सरकारले चिकित्सक पठाउन लागेको थाहा पाएपछि उनले आमरण अनशन बस्ने घोषणा तत्कालका लागि स्थगित गरेका थिए ।
हामी हराएका छैनौं : चिकित्सकहरु
यता जलेश्वर अस्पतालमा कामकाजको लागि पठाइएका चिकित्सकहरु आफुहरु हराएको नभई बर्तमान समयमा पनि प्रादेशिक अस्पतालमा ड्युटी गरिरहेको बताएका छन् । अझै प्रादेशिक अस्पतालको ड्युटी रोष्टरमा आफुहरुको ड्युटी बाँडिएको र सोहि बमोजिम बिरामीको सेवामै खटिएको बताएका हुन् ।
नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधानले हिजोसम्म प्रादेशिक अस्पतालमै ड्युटी रहेको बताउदै आफुहरुसंग सल्लाह नै नगरि जलेश्वरको लागि पत्र काटिएको बताउँदै जुन ठाउमा भएपनि बिरामीकै सेवा गर्नु पर्ने भएकोले जलेश्वर नै जान कुनै आपत्ति नरहेको बताए । उनले एक दुई दिन भित्र नै जलेश्वर पुगेर सेवा दिन आफु तयार भैरहेको बताएका छन् ।
त्यसतै हाल प्रादेशिक अस्पताल जनकपुरमै ड्युटीमा रहेका मेडिकल अधिकृत डा. सन्त कुमार यादवले वैशाख २८ गते काटेको चिठी जेष्ठ ३ गते मात्र पाएको वताउदै अहिले सम्बन्धित निकायसंग धेरै कुरा वारे जानकारी लिन नै वाकि रहेको बताए । उनले गत वर्ष नै ५ जनाले आईसियु चलाउने तालिम लिएकोमा सो मध्येबाट नभई आफुले आईसियुमा काम नै नगरेकोमा हचुवाको भरमा आफुलाई पठाउन खोजेको बताए । उनले जलेश्वर अस्पतालमा आईसियु सहितको भेन्टिलेटर चलाउनु पर्ने भएकोमा त्यसको लागि पहिले म आफैलाई दुई तिन महिना सिक्नु पर्ने बताए । हाल एनआईसियुमा ड्युटी गरिरहेका डा.सन्तले जलेश्वरमा भेन्टिलेटर र आईसियु अपरेट गर्नु पर्ने भएकोमा सोहिको दक्ष पठाउदा त्यहाको जनतालाई फाईदा पुग्ने भएपनि के कति कारणले आफुलाई पठाउन खोजिएको हो अझै बुझ्न नसकेको थपे ।
यता एनेस्थेसिया सहायक पाचौ रहेको शैलेन्द्र कुमार यादवले भेन्टिलेटर अपरेट गर्न एमडी एनेस्थेसिया चाहिने भएकोमा आफु सो तहमा नरहेको बताउँदै आफ्नो योग्यता भन्दा माथिको जिम्मेवारी एनएमसीको आचार संहिताले समेत नदिएको उनको भनाइ छ । आफु एसिस्ट गर्न सक्ने भएपनि अपरेट गर्न एमडी एनेस्थेसिया नै चाहिने भएपनि आफुलाई पठाउन खोजिएको उदेश्यवारे बुझिरहेको बताए । उनले नेपाल सरकारको सेवामा रहेकोमा पठाएको ठाउमा जान आपति नभएपनि योग्यताले भ्याएको काममात्र गर्न सकिने प्रतिक्रिया दिए ।