धनुषामा छुट्टाछुट्टै दुर्घटनामा परी एकजनाको मृत्यु, २ घाइते
टुडेपाटी-
धनुषा, वैशाख ४ गते ।
धनुषामा शुक्रवार छुट्टाछुट्टै भएको दुर्घटनामा एक प्रहरीको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । घाईते मध्य एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ करिब ८ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा बसले मोटरसाईकललाई टक्कर दिंदा मोटरसाईकल चालकको महोत्तरीको भंगहा नगरपालिका–७ का मनोज ठाकुरको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार मृतक ठाकुर प्रदेश नं २ दङ्गा प्रहरी नियन्त्रण गणमा प्रहरी कार्यालय सहयोगी पदमा कार्यरत थिए ।
ढल्केवरस्थित पानीटंक अगाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५.ख ४९६५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ज.७.प ४४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Sponsored
बसको ठक्करबाट उनी गम्भिर घाइते भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उनको उपचारकै क्रममा गएराति मृत्यु भएको ईप्रका ढल्केवरले जनाएको छ । यता ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको बताएको छ ।
यस्तै मिथिला नगरपालिका–७ राज पेट्रोल पम्प अगाडी कारले मोटरसाईकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा.२७.च ५७९४ नम्बरको कारले विपरित दिशातर्फ जाँदै गरेको ज.१२.प ४१७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने २४ वर्षिय विजय कुमार महतो र मोटरसाइकलमा सवार वर्ष २० को राजु महतो घाईते भएका हुन् ।
घाइते मध्ये मोटरसाइकल चालक विजयको अवस्था गम्भिर रहेको छ भने राजुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विजयको हात खुट्टा भाँचेको र छातीमा गम्भिर चोट लागेको छ । घाइते दुवैजनाको लालगढस्थित मोडेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने कार र चालक फरार रहेकोले खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।