जनकपुरका अस्पतालको खेलाँची : लापरबाही गरी ज्यान लिन्छन्, लेनदेन गरी घटना मिलाउँछन्
रोहित महतो-
जनकपुरधाम, वैशाख ३ गते ।
घटना-१
अघिल्लो मंगलबार दिउँसो घरमै बेहोस भएर ढलेपछि धनुषाधाम नगरपालिका- ६, हरिपुरकी २५ वर्षीया किरण सिंहलाई जनकपुरस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गरियो । घरबाट बस चढेर आमासँगै आएकी उनी जनकपुरको पिडारीचोकबाट हिँडेरै अस्पताल पुगिन् । चेकजाँच गर्दा चिकित्सकले उनलाई निमोनिया भएको ठहर गर्दै उपचार थाले ।
अस्पतालले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै गएको जानकारी आफन्तलाई गराएर उनलाई आईसीयूमा भर्ना गर्यो । त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि चार दिनपछि शनिबार भेन्टिलेटरमा सिफ्ट गरियो । भेन्टिलेटरमा राखेपछिचाहिँ चिकित्सकले तीन दिनमा बिरामीको निमोनिया रिकभर हुन्छ भनेको किरणका बुवा विजय सिंहले दाबी गरे ।
तर, सोही मध्यराति १२ बजे अस्पतालले किरणको मृत्यु भएको आफन्तलाई जानकारी दियो । ‘चिकित्सकले बिरामीको अवस्थामा सुधार भइरहेको बताएका थिए,’ किरणका बुबा सिंहले भने, ‘आईसीयूमा उपचाररत बिरामी अचानक अन्तिम अवस्थामा कसरी पुगे ? चिकित्सककै लापर्बाहीले मेरी छोरीले ज्यान गुमाइन् ।’
Sponsored
चिकित्सकको लापर्बाहीले किरणको मृत्यु भएको भन्दै उनका परिवारजन लापार्बाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आक्रोशित बने । विवाद चर्किंदै गएपछि अस्पताल तनावग्रस्त बन्यो । शान्ति सुरक्षाका लागि प्रहरीसमेट खटिए । प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर दोषीविरुद्ध जाहेरी दिन मृतक परिवारलाई आग्रह गर्यो । तर, पीडित पक्षले भने किरणको उपचार खर्च र क्षतिपूर्ति अस्पतालले तिर्नुपर्ने माग अघि सारे ।
पैसा र पहुँच हुनेले कानुन हातमा लिने, न्यायिक लडाइँ लामो हुने भन्दै मृतकका आफन्तले अस्पतालले उपचार खर्च र क्षतिपूर्ति दिए विवाद समाधान हुने बटमलाइन राखे । दिनभर अस्पताल र पीडित पक्षबीच चर्काचर्की चलिरह्यो । फार्मेसीमा औषधिबापत तिरेको ६८ हजार रुपैयाँ र उपचार खर्च गरी करिब २ लाख रुपैयाँ अस्पतालले फिर्ता गर्ने र चिकित्सकलाई कारबाही गर्ने प्रतिवद्धतापछि आफन्तले शव बुझे । ‘हाम्रा लागि कानुन छैन । कानुनी प्रक्रियामा जाँदा उपचार खर्च पनि हामीले नै तिर्नुपर्थ्यो,’ किरणका दाइ राजेशले भने ।
अस्पतालले उपचार खर्च मिनाहा गर्नुका साथै किरणको उपचारमा संलग्न डा. गोविन्दराज मण्डललाई निलम्बनसमेत गरेको जानकी मेडिकल तथा शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. अरुण गुप्ताले बताए । यद्यपि उनले चिकित्सकको लापर्बाही नगरे पनि विवाद साम्य पार्न उनलाई रणनीतिक हिसाबले निलम्बन गरेको गुप्ताले जिकिर गरे । ‘दबाबमा परेर उहाँलाई निलम्बन गरेका छौँ । तर पैसा तिरेर र निलम्बन गरेर हामीले गल्ती गर्यौँ,’ उनले भने ।
मृतक परिवार कानुनी प्रक्रियामा नजाँदा आफूहरू उपचार खर्च मिनाहा र चिकित्सकलाई निलम्बन गर्न तयार भएको उनले बताए । किरण उपचारका लागि आएका बेला उनको करिब ७५ प्रतिशत फोक्सोले काम गर्न छोडेको र सकेजति प्रयास गरे पनि उनलाई बचाउन नसकिएको गुप्ताले बताए ।
घटना-२
सुत्केरी ब्यथाले च्यापेपछि १६ चैतमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ की शिला यादव जनकपुरको बैदेही हस्पिटल भर्ना भइन् । साँझ ७ बजे श्रीमती लिएर पुगेका रमण यादवलाई अस्पतालले १० मिनेटमै चिकित्सक बोलाइदिने आश्वासन दियो ।
शिलालाई रक्तश्रावसँगै पीडा बढ्दै गयो । उनका आफन्तले स्त्रीरोग विशेषज्ञलाई बोलाइदिन बारम्बार बिन्ती गरिरहे । बल्ल राति २ बजे मात्र चिकित्सक आए । उनलाई अप्रेसन कक्षमा लगियो । जतिबेला पेटभित्रको शिशुको ज्यान गइसकेको थियो । अस्पतालको लापर्बाहीले बच्चाको मृत्यु भएको अस्पताल स्वयम्ले स्वीकार्यो ।
पीडित पक्षले चिकित्सकलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अड्डी कसे । सुरुमा कानुनी प्रक्रियामा जान अघि सरेको पीडित पक्ष पछि मेलमिलापमा राजी भयो । अस्पतालले गल्ती स्वीकार्दै उपचार बापतको करिब १ लाख रुपैयाँ मिनाहा गरिदिने भनेपछि बेलुकी करिब ४ बजे परिवारजनले शव बुझे । प्रहरी प्रशासन र न्यायालयमा पहुँच नहुँदा कानुनी प्रक्रियामा जाँदा समेत पैसा खर्च र झण्झटबाहेक केही उपलब्धि हासिल नहुने देखेर उजुरी नदिएको नवजात छोरो गुमाएका रमणले सुनाए ।
पेसाले शिक्षक रहेका उनी घरमा समेत प्रशासनिक काम गर्न सक्ने आफू एक्लै रहेको र पहाडतिर बस्दै आएकाले कानुनी झन्झटमा नपरेको बताए । ‘चिकित्सकले हामीसँग माफी मागे । मेरोतर्फबाट गल्ती भयो जे भन्नुहुन्छ त्यो मान्छु । कानुनी प्रक्रियामा जाँदा तपाईंलाई पनि कुनै फाइदा हुँदैन यतै मिलाउनुस् भने’, रमण भन्छन्, ‘मुद्दा मामिलामा जाँदा पनि यिनीहरूको धेरै पहुँच हुन्छ ।’
घटना-३
गग २६ साउनमा जनकपुरकै रामजानकी अस्पताल र रेडक्रस दुवैको लापर्बाहीलेमा महोत्तरी गौशाला नगरपालिका–११ की २३ वर्षीया गंगादेवी महतोको ज्यान गयो । छोरी जन्माएपछि उनको शरीरमा रगतको कमी देखिएको थियो । तर, उपचारका क्रममा अस्पतालले ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा गंगादेवीको मृत्यु भएको थियो ।
फरक ग्रुपको रगत चढाएकै कारण सुत्केरीको मृत्यु भएको अस्पतालले समेत स्वीकार्यो । तर, त्यतिबेला अस्पतालका सञ्चालक गणेश साहले रेडक्रसले फरक ग्रुपको रगत दिएर बिरामीका आफन्तलाई पठाएको बताएका थिए । घटनापछि दिनभर अस्पताल तनावग्रस्त रहयो । पीडित पक्षले क्षतिपूर्ति र चिकित्सकलाई कारबाहीको नहुञ्जेल शव नउठाउने अडानमा बसे । गंगाकी दाइ त्रिभुवन महतोका अनुसार अस्पतालले वार्तामा बसेर शव उठाउन अस्पतालले पटक-पटक धम्कीसमेत दियो ।
र, अन्त्यमा अस्पतालले क्षतिपूर्ति दिन तयार भएपछि गंगाका ससुरापक्ष र अस्पताल प्रशासनबीच वार्ता भयो । अस्पतालले आफ्नो चरम लापर्बाही ढाकछोप गर्न पीडितलाई ५ लाख रुपैयाँ दिएर घटना मिलायो । ‘अस्पतालले घटना मिलाउन पटक-पटक गुण्डा बोलाएर हामीलाई धम्की दियो । हामी असुरक्षित भयौँ । कसैले साथ नदिँदा राति नै मिल्ने कुरामा बाध्य भएर सहमत भयौं,’ त्रिभुवनले भने ।
राजनीतिक पहुँच, पैसा र पावरको आडमा सुत्केरीको मृत्यु हुँदासमेत अस्पताललाई केही फरक परेन । मिलापत्रमा प्रकरण टुंगियो । घटनामा पीडित पक्षले जाहेरी नदिएकाले अनुसन्धान नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना-४
चिकित्सककै लापर्बाहीका कारण ५ साउन २०७६ मा रामजानकी अस्पतालमा धनुषा बटेश्वर गाउँपालिका-३ का ४५ वर्षीय बिन्देश्वर ठाकुरको मृत्यु भयो । उनको परिवारका अनुसार पेट दुखेपछि उपचारार्थ अस्पताल पुगेका उनलाई चिकित्सकले ओभरडोज औषधि तथा सुई दिएका थिए । सामान्य अवस्थामा रहेको बिन्देश्वरको चिकित्सककै लापर्बाहीले मृत्यु भएको भन्दै परिवारजनले घटनाको छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति नदिउञ्जेल शव नउठाउने अडान लिए ।
‘चिकित्सकले कुन-कुन औषधि चलायो भनेर हामीले पोखरामा काम गरिरहेका आफन्त पर्ने एक जना चिकित्सकलाई पुर्जा पठाउँदा वहाँले गलत औषधि प्रयोग गरेको भन्नुभयो । त्यसपछि हामीले उपचार गर्ने चिकित्सकलाई तुरुन्त बोलाउनुस् भन्दा अस्पतालले मानेन,’ घटनापछि कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका ठाकुरका छिमेकी राममणि कुशवाहाले भने, ‘जबर्जस्ती शव घर लान भन्यो । नमान्दा अस्पतालले बाउन्सहरू भिडाएर हामीमाथि आक्रमणको प्रयाससमेत गर्यो ।’
अन्त्यमा अस्पतालले गल्ती गरेको स्वीकार्दै साढे ४ लाख रुपैयाँ दिएर घटना ढाकछोप गरे । ‘न्याय माग्दै हामी प्रदर्शनमा उत्रिएका थियौँ । तर, प्रहरी अस्पतालकै पक्षमा उभियो । डीएसपी र इन्सपेक्टरले तपाईंहरूकै गल्ती हो भन्दै लाठी चार्ज गर्न लगायो । शव सडकमा राखेर आन्दोलन गर्ने भनेपछि अस्पतालले हामीलाई वार्तामा बोलायो,’ उनले भने, ‘हामीले वकिलसँग पनि सल्लाह लियौँ । उहाँले चिकित्सकसँग लाइसेन्स छ केही हुँदैन, प्रक्रियामा जाँदा धेरैमा ५ लाखसम्म क्षतिपूर्ति पाउनुहुन्छ भन्नुभयो । अस्पतालले पनि त्यति दिन तयार भएपछि हामी कानुनी प्रक्रियामा गएनौँ ।’
प्रदर्शनका क्रममा अस्पतालको सिसा फुटाइदिएबापत ५० हजार रुपैयाँ काटेको उनले बताए । राजनीतिक र प्रशासनिक दबाबपछि मृतकका परिवारको आर्थिक अवस्था समेत कमजोर रहेकाले कानुनी झमेलामा नपरी पीडित परिवार पैसा लिएर अस्पतालसँग सम्झौता गर्न बाध्य भएको कुशवाहाको भनाइ छ ।
घटना मिलाउन प्रहरीले समेत भूमिका खेलेको र पक्राउ गरेका दुई जना चिकित्सकलाई अनुसन्धानबिनै छोडेको प्रश्नमा प्रहरीले त्यतिबेला पीडित पक्षले जाहेरी नदिँदा शव पोस्टमार्टम र घटना अनुसन्धान नभएको बताएको थियो ।
जनकपुरमा अस्पतालको लापर्बाहीले पटक-पटक बिरामीको ज्यानै जाने घटना दोहोरिँदै आए पनि रकम लेनदेन गरी मिलापत्र गर्ने प्रवृति बढ्दो छ । अस्पतालले आफ्नै गल्तीका कारण बिरामीको ज्यान गएको स्वीकार गर्दासमेत आजसम्म कुनै पनि अस्पताललाई कारबाही हुन सकेको छैन ।
राजनीतिक, आर्थिक, प्रशासनिक र विचौलियाको दबाबमा पीडित पक्षसमेत रकम लेनदेन गरी अस्पतालसँगै मिल्न बाध्य छन् । अधिकांश घटना छानबिन नै नगरी मिलापत्र गरिएको भेटिन्छ । अस्पतालहरू पहुँच र आर्थिक रूपमा समेत मजबुत हुने हुँदा पीडित पक्ष कानुनी प्रक्रियामा जानै नचाहेको बताउँछन् । तर, पीडित पक्षले उजुरी नदिँदा अस्पतालभित्र घट्ने त्यस्ता घटनाका विषयमा अनुसन्धान गर्न नसकिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्र बताउँछन् ।
‘मेडिसिनसम्बन्धी अनुसन्धानको जिम्मा हामीलाई दिएकै छैन । हामीसँग त्यो अनुसन्धान गर्ने विज्ञता छैन् । तर, जाहेरी आयो भने हामी सबै फाइल स्वास्थ्य मन्त्रालयको मेडिकल बोर्डमा पठाउँछौँ,’ उनले भने । प्रहरी प्रशासन अस्पतालसँगै मिल्ने हुँदा पीडितले उजुरी नदिएको प्रश्नमा उनले भने, ‘यो आरोप निराधार हो । यति धेरै मानिस कारागार गएका छन् सबै मिलेरै गएका हुन् र ? रियल कुरा भिक्टिमले भन्दै भन्दैन ।’
यस्ता घटनामा कारबाही गर्ने निकायको बेवास्तासँगै विचौलियाले समेत भूमिका खेल्दा पीडित पक्षले न्याय पाउन नसकेको एक चिकित्सकले बताए । ‘यहाँ एउटा आन्दोलनकारी गिरोह पनि सक्रिय छन् । अस्पतालको लापर्बाहीले बिरामीको ज्यान जाँदा उनीहरू अस्पताल पुगेर होहल्ला, आन्दोलन गर्ने र पीडित पक्षसँगै अस्पतालसँग पनि बार्गेनिङ गर्छन्,’ उनले भने, ‘उनीहरूले पनि कतिपय पीडित पक्षलाई कानुनी प्रक्रियामा जाँदा केही हुँदैन आन्दोलन गर भन्दै पैसाको लोभ पनि देखाइदिन्छन् । आन्दोलन गर्न उस्काएर पछि मिलापत्र गराउन पनि सक्रिय हुन्छन् । त्यसबापत निश्चित रकम लिन्छन् ।’
चिकित्सक तथा अस्पतालले अन्तिमसम्म बिरामीको ज्यान बचाउन प्रयास गर्ने जानकी मेडिकल शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. अरुण गुप्ताले बताए । ‘के चिकित्सकले सबै बिरामीलाई मार्छन् र ? जानीजानी उपचारमा गल्ती भएको छ भने जाहेरी दिनुस् भनेकै थियौँ,’ उनले भने ।
उसो त कानुनी प्रक्रियामै पीडित पक्ष नगएका होइनन् । २८ फागुन २०७५ मा प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सककै लापर्बाहीले मिथिला नगरपालिका-६ का रामनरायण खत्वेको ज्यान गएको थियो । चिकित्सककै गल्तीले बुबाको ज्यान गएको भन्दै उनका छोरा रमेश मण्डलले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिए ।
घटना छानबिनका लागि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको संयोजकत्वमा १० सदस्यीय छानबिन समिति समेत गठन भयो । तर, समितिले घटनाको छानबिनै नगरेको र पटक-पटक धाउँदासमेत कुनै उपलब्धि नभएपछि पछि हटेको उनका कान्छा छोरा राजाराम मण्डलले बताए ।
‘छानबिन समितिले केही गरेन । प्रहरीले पनि त्यसै गर्लान् भनेर न हामी प्रहरी कार्यालयमा गयौँ, न प्रहरीले हामीलाई बोलायो,’ उनले भने ।
शिलापत्र