बागमती प्रदेश : विवाहको निमन्त्रणा कार्डमा उमेर अनिवार्य रुपमा लेख्नुपर्ने
टुडेपाटी-
सिन्धुली, चैत ८ गते ।
सिन्धुली जिल्लाका स्थानीय तहहरू बालविवाह अन्त्य गर्ने अभियानमा जुटेका छन्।
२०७८ सम्म प्रदेशलाई बालविवाहमुक्त बागमती प्रदेश बनाउने प्रदेश सरकारको नीतिअनुरूप सिन्धुली जिल्लाका नौवटै स्थानीय तह उक्त अभियानमा जुटेका हुन्।
गोलन्जोर गाउँपालिकाको महिला तथा बालबालिका शाखाले बालविवाह अन्त्यका लागि प्रत्येक वडामा वडास्तरीय बाल अधिकार समिति गठन गर्न सुरु गरेको छ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीले पालिकाका सातवटै वडामा समिति गठन गर्ने अभियान सञ्चालन गरेको जानकारी दिँदै चैत १ गतेदेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत छवटा वडामा वडाध्यक्षको संयोजकत्वमा नौ देखि ११ जना रहने गरी बाल अधिकार समिति गठन गरिएको जानकारी दिए।
Sponsored
गोलन्जोर गाउँपालिकामा बालविवाह अन्त्यका लागि उपाध्यक्ष गङ्गामाया श्रेष्ठको संयोजकत्वमा बालविवाह न्यूनीकरण समिति गठन गरी समितिमार्फत चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ।
मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले ‘मरिणभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ’ भन्ने नारा नै बनाएर बाल संरक्षण नीतिमार्फत बालविवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको बताए।
गाउँपालिकाले बाल विवाह रोक्नकै लागि विवाहको निमन्त्रणा कार्डमा उमेर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको खबर गोरखापत्रमा छापिएको छ।