TodayPati

महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँगै मिलेर सरकारमा जाने मुडमा, जसपा पनि फुट्ने संकेत

टुडेपाटी-

जनकपुरधाम, फागुन २६ गते ।

सत्ता समिकरणको दौडमा जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि विवाद चर्किएको छ ।

Sponsored

माओवादी वा एमालेसँग सहकार्य गरी सरकार बनाउने विषयमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी (संसपा) बीचको विवाद उत्पकर्षमा पुगेको छ ।

तत्कालीन राजपा एमालेसँग सहयकार्य गरी सरकारमा जाने प्रयासमा छन् भने समाजवादी पार्टी माओवादीसँग सत्ता सहकार्यकालागि प्रयास गरिरहेको छ ।

जसपा अध्यक्ष अध्यक्ष महन्त ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर एमालेसँग सत्ता साझेदारको लागि प्रयास गरेका छन्।

Sponsored

सत्ता साझेदारीका लागि ठाकुरले पूर्व समाजवादी र राजपाकै केही नेतालाईसमेत जानकारी नगराइ कार्यदल समेत बनाइसकेको छ ।

जसपाको तर्फबाट कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल र सांसद लक्ष्मणलाल कर्ण छन्। शुक्ल ठाकुर निकट हुन् भने कर्ण महतो निकट हुन्।

‘केही दिनअघि ठाकुरजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नुभएको थियो। त्यहीँ बेला कार्यदल बनाउनुभएको हो,’ जसपाका एक नेताले भने, ‘यसबारेमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई जानकारी छैन। पूर्व राजपाकै पनि कतिपय नेतालाई थाहा दिइएको छैन।’

तर भट्टराई र यादवले वर्तमान प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले सहकार्य गर्नै नहुने अडान लिएका छन्। तर ठाकुर र महतो भने ओलीसँग सहकार्य गर्ने विषयमा खुला छन्।

समाजवादी पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनेको हो। तर यी दुई दलको संसदीय दलका नेता फरक–फरक छन्। केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन जसपाले साथ दिए पुग्ने देखिन्छ। एमालेबाट प्रतिनिधि सभामा १२० सांसद छन्।

सरकार बनाउन १३८ जना सांसद चाहिन्छ। प्रतिनिधि सभामा जसपाका ३४ सांसद छन् त्यसमध्ये दुई जना निलम्बनमा छन्।

बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग वार्ता गर्न लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको टोली बनाएका थिए।

दिउँसो बसेको संसदीय दलको बैठकमा ठाकुरको सो कदमको चर्को विरोध भएको थियो।

९० प्रतिशत सांसदहरुले प्रधानमन्त्री ओलीसँग मिलेर जान नहुने धारणा राखेको सांसद मोहम्मद इस्तियाक राईले बताए।

त्यसपछि बैठकले सत्ता समीकरणसहित जसपाले उठाएको मुद्दा कार्यान्वयनका विषयमा छलफल गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको राईले बताए।

टोलीमा रहने अन्य तीन नेताहरुको टुंगो भने भोलि बस्ने शीर्ष नेतासहितको बैठकले तय गर्ने उनले जानकारी दिए। प्रधानमन्त्री ओलीले ठाकुरसँगको भेटमा सत्ता साझेदारीको प्रस्ताव राखेका थिए।

उनले मन्त्रालयमा सम्मानजनक भागबण्डा गर्न आफू तयार रहेको पनि बताएका थिए। त्यस्तै, उपसभामुख पद दिन पनि तयार भएको ओलीले बताएपछि ठाकुर वार्ता टोली गठन गर्न मञ्जुर भएका थिए।

जसका कारण जसपा विभाजन हुने चर्चा समेत चलेको थियो। मंगलबार दिनभर जसपा विभाजन हुने हल्ला चलेपछि बसेको संसदीय दलको बैठकले भने सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि आफ्नो पार्टी नफुट्ने दाबी गरे।

आफूहरुले वैकल्पिक शक्ति निर्माणका लागि राजपा र समाजवादी पार्टीबीच एकता गरेको भन्दै सत्ताका विषयमा कुनै हालतमा पार्टी विभाजन नहुने ठोकुवा महतोले गरे।

‘ढुक्क भएर बस्नुस, यो वैकल्पिक शक्ति निर्माणका लागि एकता भएको हो, फुट्नका लागि होइन,’ महतोले भने, ‘फेरि दोहो¥याएर भन्छु वैकल्पिक शक्ति निर्माणका लागि एकता गरेका जसपा फुट्दैन।’

उनले आफ्नो पार्टीले उठाएको माग सम्बोधनका लागि भने सबै पक्षलाई दबाब दिइने बताए।

रेशम चौधरी रिहा भए जसपा ओली सरकारमा जान्छ भन्ने प्रश्नमा महतोले आफूहरुको माग त्यतिमात्र नभएको बताए।

‘हाम्रो माग रेशम चौधरीको रिहाइ मात्र होइन,’ महतोले भने, ‘हाम्रा नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्छ।हाम्रा ती माग सम्बोधन भएन भने तत्काल केही हुँदैन।’

सत्ता समीकरणका लागि सबै पक्षसँग खुला भए पनि उधारो सहमति कसैसँग नगर्ने महतोले बताए।

‘हामी सत्ता समीकरणका लागि खुला छौँ। तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं,’ उनले भने, ‘तर, हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौँ। विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौँ। पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौँ।’

उनले पार्टीको संसदीय दलको नेता चयनका लागि विधान संशोधन गरिने पनि बताए। संसदीय दलको बैठकमा समसायिक विषयको समीक्षा भएको उनले बताए ।

वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजनको व्यवस्था खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि वैशाख १० गते राजपा र समाजवादी पार्टीले एकता गरेका थिए।

माओवादीले केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरेपछि प्रधानमन्त्री केपी ओलीको नजर जनता समाजवादी पार्टीमाथि परिरहेको छ ।

जसपा विभाजित गर्न सकियो भने आफ्नो नेतृत्वमा सरकार टिकाउन सकिन्छ भन्ने ओलीको विश्वास छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *