TodayPati

प्रदेश २ सहित देशभर आफन्त र चिनजानबाटै बढ्दैछ बलात्कार, हरेक दिन आठ जना बलात्कृत


टुडेपाटी

जनकपुरधाम, मंसिर १३ गते ।

प्रदेश २ सहित देशैभर बलात्कारसम्बन्धी जघन्य अपराधका घटना बढ्दै गएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् ।

Sponsored

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०र७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६-७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।

हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०-७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ ।

Sponsored

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आव ०७५-७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् । त्यस्तै, आव ०७४र७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३-७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ ।

जबर्जस्ती करणीरउद्योग दर्ता भएको मुद्दामा पीडितको अवस्था

आव ०७२-७३ मा देशभर एक हजार ६ सय ५५ महिला बलात्कृत भएका थिए, त्यसमध्ये ६ सय ३५ बालिका छन् । ०७१-७२ मा पीडित बनेका एक हजार ६ सय १५ महिलामध्ये ६ सय ४७ बालिका छन् । त्यस्तै, ०७०-७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार बनेका थिए, जसमा तीन सय ९६ बालिका रहेको महान्यायाधिवक्ता कार्यालयको तथ्यांक छ ।

गत वर्ष बलात्कृत एक हजार तीन सय ९३ बालिकामध्ये दुई सय ७३ जना १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १६ वर्षसम्मका आठ सय एक र १७ देखि १८ वर्ष उमेर समूहका तीन सय १९ जना बलात्कृत भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा तीन सय १९ र सबैभन्दा कम कर्णालीमा ८१ बालिका बलात्कृत भएका छन् । त्यस्तै, लुम्बिनीमा दुई सय ३४, प्रदेश २ मा दुई सय चार, बागमतीमा एक सय ६५, काठमाडौं उपत्यकामा एक सय ३७, सुदूरपश्चिममा एक सय २९ र गण्डकीमा एक सय २३ बालिका बलात्कारको सिकार भएका छन् ।

यो वर्ष दैनिक आठ बलात्कारका घटना

चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् । साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७५-७६ मा बलात्कारपछि हत्याका ११ घटना भएका थिए । त्यस्तै, आव ०७६-७७ मा दुई र चालू आवमा एक बलात्कारपछि हत्या घटना भएको प्रहरीको तथ्यांक छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *