सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु
टुडेपाटी-
सिरहा, मंसिर ११ गते ।
सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १८ शोभापुर गाउँमा २५ वर्षीया इसरत खातुनको मृत्यु शंकास्पद भएको हो । घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।
मृतकको पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतारमा छन् । उनी दुई छोराछोरीसहित एक्लै घरमा बस्दै थिए । उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
घाइते खातुन स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ । स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्याउँन लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो ।
प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । हामी त्यही अनुसार अनुसन्धान बढाएको उनले बताए । ‘महिलालाई कुटपिट गर्ने आरोपित एक जनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ,’डीएसपी थापाले भने,‘अस्पताल पुर्याउने व्यक्तिले विष सेवन गरेको भनेर कुरा जानकारी गराएको छ । पोष्टमार्टमपछि सबै कुरा खुल्नेछ ।’
Sponsored
मृतकका आमाबुबाले कुटपिटबाट छोरीको मृत्यु भएको दाबी गरेका छन् ।