TodayPati

प्रदेश २ का आठवटै जिल्लाका भारतीय सिमामा छैन रोकटोक, निर्वाध आवत जावत

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।

उच्च शिक्षा अध्ययनका लागि भारतको उडिशामा मेडिकल शिक्षा अध्ययनरत पप्पु सिंह यसैसाता महोत्तरीको बलवा नगरपालिका–२ स्थित आफ्नो घर आइपुगेका छन् । भारतमा  लकडाउनपछि कलेज छुट्टी भए पनि सवारीको क्रममा झेल्नुपर्ने कठिनाइ र संक्रमणको डरले चाहना हुँदाहुँदै उनी घर आउन सकेका थिएनन् । सिमामा खेप्नुपर्ने अप्ठ्याराले समेत अवगत भएकाले समेत उनी पहिले आउन हिचकिचाएका थिए । तर महोत्तरीको भिठामोड नाकामा प्रहरीले उल्टै अर्को बाटो भएर तुरन्तै छिर्न भनेपछि उनी चकित भए । ‘यतातिर क्यामेरा लागेको छ, छेउको बाटो भएर जाउ भनेर पुलिसले भन्दा मलाई आश्चर्य लाग्यो । सिमामा कुनै अहिले खासै कुनै रोकटोक छैन्,’ उनले भने ।  

भारतको कर्णाटकमा इन्जिनियरिङ्ग अध्ययनरत जनकपुरका भास्कर साहले लकडाउन भएको तीन महिनापछि घर फर्किन खोजेपनि सिमामा प्रवेश नपाउने आशंकाले उनी आएनन् । तर पछिल्लो साता उनीसँगै सर्लाही लालबन्दी र सिरहा लहानका अन्य दुई साथीसँगै उनी नेपाल आइपुगे । उनलाई भारतबाट नेपाल प्रवेश सिमामा कसैले रोकटोक वा कुनै जानकारी नै लिएनन् । उनी सरासर भिठामोडबाट बस चढेर जनकपुर आइपुगे । 

Sponsored

धनुषा–महोत्तरी मात्र हैन, भारतीय सीमावर्ती क्षेत्रसंग जोडिएका प्रदेश २ का अधिकांश जिल्लामा भारतबाट नेपाल र नेपालबाट भारत जानेको संख्या बढ्दो छ । नेपालबाट भारतमा अध्ययन र रोजगारीका लागि गएकाहरु दसैं, तिहार र छठ लक्षित आउनेको संख्याको यकिन नभए पनि दैनिक हजारौंको संख्यामा आवत जावत हुन्छ । उनीहरुसँग न कुनै सोधखोज छ, न त कुनै जाँच पडताल नै । आफ्नै मनले आउने–जाने यहाँको दैनिकी छ ।  

नेपाल र भारतका अधिकारीबीचको छलफलपछि आतिआवश्यक अवस्थामा जाँचबिना सीमामा ओहोर–दोहोर गर्न रोक लगाइने सहमति भए पनि जेकजाँचको कुनै व्यवस्था हुन नसकेको महोत्तरीको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए । ‘सुरुमा भिठामोड नाका खोलिएको थियो, तर पछिल्लो चरणमा बन्द भयो, त्यसपछि हामीले नाकाबाट आवत–जावतमा पूर्णत रोक लगाएको छौं, अतिआवश्यक भए दुई देशको अधिकारीको समन्वयन पछि मात्र आउने जाने हुन्छ । बाँकी खुल्ला सिमाना छ, चोर बाटोबाट आउने जानेलाई जति गरेपनि सकिन्न,’ उनले भने ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सीमामा  आवत–जावत पूर्ण रुपमा बन्द रहेको दाबी गरे पनि चोरबाटोबाट लुकिछिपी आउनेको संख्या यकिन नरहेको स्वीकारे । ‘नेपाल भारत सिमामै दुवैतिरका मान्छेको घर छ, यताबाट गए कि उताबाट आए थाहा नै हन्न । त्यस्तो बेलामा लुकछिपी आउजाउ हुन्छ,’ उनले भने । 

Sponsored

प्रदेशभरी कोरोनाको फ्रन्टलाइन खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सेना, कैदीबन्दी, कर्मचारी, जनप्रतिनिधि, पत्रकार, आम समुदायका मानिस संक्रमित भइरहेका छन् । संक्रमितको संख्या ह्वात्तै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, सामाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झा बताउँछन् । ‘संक्रमण नियन्त्रणको स्थितिमा ल्याउन सबैभन्दा मुख्य कुरो नै भारतीय सीमामा हुने आउ–जाउमा कडाइ हो,’ उनले भने, ‘हामीले संक्रमण नियन्त्रण गर्ने पहिलो रणनीति नै सीमा कडाइ गर्नुपर्ने र  भौतिक दुरी कायम गर्नुपर्ने मुख्य चूनौती छ ।’ 

पहिलो प्राथमिकता सीमा कडाइ र दोश्रो संक्रमितको पहिचान परीक्षण र भौतिक दुरी रहेको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रमोद यादवको भनाइ छ । ‘सीमादेखि गाउँ हुँदै सहर सम्मको अवस्था पहिला जस्तै सहज भएपछि संक्रमण समुदाय स्तरमा फैलिसकेको र अझै आम सर्तकतामा लापरवाही, स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा संक्रमित बढ्दै जानु हो,’ उनले भने ।

प्रदेश २ को रेडजोन ८ जिल्लामा हाल झण्डै १५ हजार संक्रमित छन् । देशभरि कोभिड–१९ ले हुने मृत्युदर शून्य दशमलब ६० प्रतिशत रहे पनि प्रदेश २ मा मृत्युदर करिब १ प्रतिशतको हाराहारीमा छ ।  

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *