तारेखमा छुटेका दिलीपका ३ हत्या आरोपी पुनः पक्राउ, प्रहरीले चलाए अर्को मुद्दा
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन २ गते ।
दिलीप महतोको हत्या अभियोगमा पक्राउ परेर जिल्ला अदालत धनुषाको आदेशमा धरौटी बुझाएर तारेखमा छुटेका तीनजना पुनः पक्राउ परेका छन् । बुधबार जिल्ला अदालत धनुषाले २५–२५ हजार रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका दिलीपका साथी रोशन यादव, क्रसर संचालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र वृजमोहन भनिने सत्रुधन महतो पुनः पक्राउ परेका हुन् ।
धरौटी बुझाएर रिहा भए लगतै तीनैजनालाई पुनः पक्राउ गरी शान्ति सुरक्षाको कसुरमा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका तीनै जनालाई शुक्रबार सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थप गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।
धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओम प्रकाश भन्ने दिलीप महतोलाई गएको पुस २५ गते बिहान घर नजिकैको औरही खोलामा टिपरले किचेर हत्या भएको थियो । सोही हत्या अभियोगमा पक्राउ परेका ६ जना मध्ये जिल्ला अदालत धनुषाले बुधबार चुरियामाई प्रशोधन क्रसर संचालक विपीन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । यस्तै पक्राउ मध्येका दिलीपसंगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतोलाई जनही २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्न जिल्ला अदालतको आदेश थियो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्न आदेश दिएको थियो । सोहि अनुसार तीनैजनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हत्याकै आरोपमा पक्राउ परेका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेका देखिएको, सत्यनारायण र शत्रुधनको समेत हत्यामा संलग्नता नदेखिएकाले तारेखमा रिहा गर्न आदेश गरेको थियो । आदेश अनुसार तीनैजनालाई रिहा गरी पुनः अर्को कसुरमा पक्राउ गरेको हो ।
अभियुक्तलाई रिहा गर्न आवश्यक कागजी प्रक्रियाको क्रममा अभियुक्तहरुले हो–हल्ला तथा शान्ति सुरक्षा भंग हुने कदम उठाएकोले पक्राउ गर्नु परेको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीको भनाइ छ ।
Sponsored
जिल्ला अदालतको आदेश उपर चित नबुझेको भन्दै धनुषा प्रहरीले सरकारी वकिलमार्फत उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको जनाएको छ । गएको पुस २५ गते विहान घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो ।
हत्याको दुईदिन नबित्दै प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पछि पुनः त्यहि घटनाका २ जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको थियो । मृतक दिलीपका परिवारले प्रहरीमा ७ जनामाथि किटानी जाहेरी दिएका छन् ।