दिलीप हत्या काण्ड : क्रसर सञ्चालकसहित ३ जना जेल चलान, ३ तारेखमा रिहा
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन २ गते ।
अवैद्य खोला उत्खनन गर्दा टिपरले किचेर हत्या गर्ने क्रसर संचालक सहित तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन् । आरोपी मध्येका तीनजा भने धरौटीमा रिहा भएका छन् ।
जिल्ला आदलत धनुषाको आदेशमा क्रसर ञ्चालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
यस्तै पक्राउ मध्येका दिलीपसंगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी साधारण तारेखमा रिहा भएको जिल्ला अदालत धुनषाले जनाएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश दिएको हो । हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ ।
विहान खोला उत्खनन भइरहेको जानकारी पाएपछि दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेका देखिएकाले उनलाई धरौटीमा तारेखमा रिहा गरेको अदालतले जनाएको छ । अदालतका अनुसार हत्या घटनामा सत्यनारायण र शत्रुधनको समेत संलग्नता नदेखिएकाले तारेखमा रिहा गरेको हो ।
गएको पुस २५ गते विहान घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो । हत्याको दुईदिन नबित्दै प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पुस २७ गते राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोँखमा घोँचेर गम्भीर घाइते बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो । पछि पुनः २ हत्या अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो ।