बेचिसकेको जग्गा बेइमानी गर्न अपहरणको झुटो घटना रचेर हामीलाई फसाउन खोज्यो : इन्द्रकुमार
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।
धनुषामा अपहरण गरी कपाली तमसुक बनाइएको आरोप लगाएपछि विपक्षीले घटना फर्जी रहेको दावी गरेका छन् । धनुषाको औरही गाउँपालिका १ बस्ने इन्द्रकुमार दासले पत्रकार सम्मेलन गरी आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दावी गरेका हुन् ।
गत कार्तिक २१ गते धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ४ मणिपट्टीका ६३ वर्षिय रामआशिष दासले जनकपुरमा पत्रकार सम्मेलन गर्दै गत बैशाख २५ गते राति ९ बजे जनकपुरधामको पुलचौकबाट घर फर्किने क्रममा आफूलाई एक हतियारधारी समूहले अपहरण गरी कपाली तमसुकमा औठाछापा गराएको बताएका थिए । त्यस घटनामा हँसपुर नगरपालिका वडा नम्बर १ पौडेश्वर निवासी रामविलाश दास, इन्द्रकुमार दास र उनका छोरा रामकुमार दास संलग्न रहेको आरोप लगाउँदै हुलाक कार्यालयबाट गत जेठ महिनामा जाहेरी दिएको रामअशिषले दावी गरेका थिए । प्रहरी प्रशासनले सो घटनाका दोषीलाई कारबाही नगर्दा आफू अन्यायमा परेको उनको दावी थियो ।
रामअशिषले लगाएको आरोप निराधार रहेको मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी इन्दकुमार दासले दावी गरे । २०४४ सालमै रामअशिष सित किनेको १३ कठा तीनधुर खेतको लेनदेन मुद्दाको कारण आफू सहित आफ्नो बुवा रामविलास दास कथबनिया र भाई रामपुकार दासमाथि यस्तो आरोप उनले लगाएको इन्द्रकुमारको तर्क छ ।
खेत हालसम्म रामअशिषले रजिष्ट्रेशन पास नरेको र त्यस विषयमा पाचसौपटक भन्दा बढी परपञ्चायत छलफल पालिकादेखि विभिन्न निकायमा भएको इन्द्रकुमारको भनाइ छ । ‘कयौं पटक पंचायत भएको छ, आज गरिदिन्छु त भोली गरिदिन्छु भनी आलटाल गर्दै आएका छन् । जग्गा रजिष्ट्रेशन नगर्ने मनसायले अब रामआशिषले मनगढन्त अपहरण गरी कपाली तमसुक बनाएको आरोप लगाउँदै छन्’ इन्द्रकुमार भन्छन् ।
बनाएको तमसुकमा आफ्ना परिवारको कुनैपनि सदस्यको संलग्नता नरहेको रामअशिषले नै पत्रकारहरुलाई उपलब्ध गराएको तमसुकको प्रतिलिबाट प्रष्ट भएको इन्द्रकुमारको तर्क छ ।
रामअशिषले नै कयौं व्यक्तिसँग तमसुक गरी ऋण सापटी लिएको र फिर्ता नगर्दा विवाद पनि हुने गरेको उनको दावी छ ।
‘हामीले किनेको जग्गामा खेतीबारी सहित भोगचलन गर्दै आएका छौं । तर रामआशिषले बेचिसकेका जग्गा बैंकमा बन्धकी राखेका छन् । त्यसका लागि ऋण दिने बैंकलाई पनि भनिसकेका छु । सो बैंकले पनि रामआशिषलाई रजिष्ट्रेशन गरिदिन भन्दै आएको छ । बेचेकै जग्गा हत्याउन रामआशिषले मसहित मेरो परिवारका सदस्यमाथि अपहरण गरी बलजफ्ती कपाली तमसुक बनाएको भनी मनगढंत आरोप लगाएका छन्’ इन्द्रकुमार भन्छन् ।
Sponsored
इन्द्रकुमारले घटनाको सत्यतथ्य छानबीन हुनुपर्ने बताउँदै आफू दोषी भए कारबाहीको लागि तयार भएको समेत बताए । उनले आफूले किनेको जग्गा पनि सम्बन्धित निकायले रजिष्ट्रेशन पास गराइ सहयोग गरिदिन आग्रह गरे ।
सम्बन्धित समाचार–