डिस्चार्ज बिरामीलाई ३६ दिनदेखि बन्धक राख्ने जनकपुर न्यूरो हस्पिटल दर्ता नै छैन
टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
जनकपुरधामको न्यूरो हस्पिटल दर्ताबिना नै एकवर्षदेखि संचालनमा रहेको खुलासा भएको छ । २०७८ फागुन दोस्रो सातादेखि ५० बेडको संचालन भएको यो हस्पिटल काहीकतै दर्ता न रहेको खुलेको हो ।
कम्पनी राजिष्टारबाट जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि नामको कम्पनी दर्ता गराई मात्र संचालनमा रहेको छ । संघ सरकारको स्वास्थ्य सेवा विभाग, प्रदेश सरकारको स्वास्थ्य महाशाखा र स्थानीय सरकारको स्वास्थ्य शाखामा कतै पनि यो हस्पिटल दर्ता छैन ।
न्यूरो सम्बन्धि विशिष्टिकृत हस्पिटल रहेकाले स्वास्थ्य सेवा विभागमा दर्ता रहेको हस्पिटल संचालक डा. विजय राउत दावी गर्छन् । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखा अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । हस्पिटल दर्ताका लागि निवेदन दिएपनि मापदण्ड नपुगेका कारण सुचीकृत नभएको अस्पताल अनुगमन तथा सुद्दढीकरण शाखा प्रमुख नरेन्द्र खनालले बताए ।
‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमन समेत ग¥यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, उनले भने ।
न्यूरो हस्पिटलमै उपचार खर्च तिर्न नसकेपछि सबैला नगरपालिका ९ की मन्तोरिया देवी राय ३६ दिनदेखि बन्धक छन् । समाचार सार्वजनिक भएपछि विभागले २४ घण्टाभित्रमा कसको मातहतमा रहेर सञ्चालन भएको छ भन्ने लिखित जवाफ समेत मागेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । त्यहाँ कागजात माग्दा व्यवस्थापक प्रमुख सञ्जय मण्डलले कम्पनी दर्ताको मात्र प्रमाणपत्र उपलब्ध गराएका छन् । उनले अरु प्रमाणपत्र पछि उपलब्ध गराउने बताएका थिए ।
प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । यो अस्पताल डा. विजय राउत र इन्जिनियर अजय राउतले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।
यो हस्पिटलले उपचारको नाममा मनपरी चर्को शुल्क असुल्ने गरेको र उपचार खर्च भने अनुसार नतिर्दा बिरामीलाई बन्धक राख्ने गरेको व्यापक जनगुनासो छ ।
सम्बन्धित समाचार–
Sponsored