जनकपुर : उपचार खर्च तिर्न नसक्दा ३६ दिनदेखि अस्पतालमै बन्धक छिन् मन्तोरिया
टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
कसैलाई देखेपछि उनको मनमा आशाको किरण पलाउँछ । केही सोध्यो भने आँखाबाट आँसुको भेल बग्छ । राम्ररी बोल्न सक्दिनन् । यद्यपी सहयोग पाइन्छ भनेर आफ्नो दुःख पीडा अभिव्यक्त गर्न खोज्छिन् मन्तोरिया देवी राय । सहयोगकै भरमा हस्पिटलबाट घरसम्म पुग्न चाहन्छिन् उनी । धनुषाको सबैला नगरपालिका ९ की ३० वर्षीया मन्तोरिया जनकपुरधामको मुरलीचोकस्थित जनकपुर न्यूरो अस्पतालमा माघ १२ गतेदेखि ने भर्ना छिन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घइते भएकी उनको उपचार यसै हस्पिटलमा भइरहेको थियो । चिकित्सकका अनुसार पुर्नजन्मनै पाइकी छन् मन्तोरियाले । तर बाँचेर पनि न त घरकी छन्, न त घाटको । घरमा औषधि खाने गरी फागुन २० गते नै अस्पताले उनलाई डिस्चार्ज गरिदियो । अस्पतालबाट डिस्चार्ज भएको ३६ दिन भइसकेको छ । तर अस्पतालको उपचार खर्च झण्डै ९ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालकै एक बेडमा उनको दैनिकी कटिरहेको छ । अस्पतालमै छन् तीन बालबच्चा र वृद्ध ससुराबाको बसाइँ । कसले बिल तिरिदिने र कसरी घर जाने कुनै टुंगो छैन ।
मन्तोरियाकै समस्या बुझ्न शुक्रबार अस्पताल पुग्दा उनी बेडमा जसोतसो बसिरहेकी थिइन । बेडमा छेउमै थिइन् ८ वर्षीया छोरी वर्षा । दुर्घटनामा परेदेखि आमाको रेखदेख स्याहार सुसार वर्षले नै गर्दैआएकी छन् । उनी हलमा छिन् । त्यहाँ अन्य बेडमा बिरामी छैनन् । एकलै मन्तोरिया र उनका बालबच्चा हुन्छन् त्यहाँ । हामी उनको समस्या छोरी वर्षासंग बुझ्ने प्रयास गयौ । मन्तोरियाको आँखाबाट आँसुको भेल बग्न थाल्यो । छोरी वर्षाले दुईतीनपटक हातले आँसु पुछिदिइन् । ‘नरुनुस् आमा नरुनुस् ।’ छोरी वर्षाले भन्दै उनी पनि स्तब्ध भइन् । तर मन्तोरियाको आँसु रोकिएन । भक्कानिदै रुन थालिन् । तर उनको रुवाइ पनि टाढासम्म सुनिदैन । ‘हमरासभके खाइला नै पुगै है, अतेक रपैया ँतिरक घर केना जेबै, हमर बालबच्चाके केना पालेतै हौ बाबु (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घरजानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ बाबु)’ मन्तोरियाले आफ्नो पीडा पोख्दै बिलाप गर्न थालिन् । मन्तोरियाका अनुसार यसअघि आफ्नो उपचारमा लागेको १० लाख रुपैयाँ ऋण काढेर, गाउँसमाजले चन्दा उठाएर दिएको तिरिसकेको छ ।
सम्पतिको नाममा दुईधुर घडेरीमा उनको घर छ । ८ वर्षीया छोरी वर्षा, ५ वर्षीय छोरा महेशर र ३ वर्षीय उमेश छन् । छोरी वर्षाका अलावा अर्का कुरुवामा छन् मन्तोरियको ७१ वर्षीय ससुराबा रामप्रसाद राउत । जसोतसो बुहारीको हेरचाह गर्छन्, तीन नातिनातिनालाई सम्हाल्छन् । पति रामबहादुर राय वैदेशिक रोजगारमा कतार छन् । गत कार्तिकमा घरमा अभिभावक रामबहादुर कतार गएपछि घर सम्हाल्दै आएकी थिइन् मन्तोरिया । तर, दुर्घटनामा परेदेखि उनको परिवार नराम्ररी बिथोलिएको छ । बर्बाद भएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएका कम्पनी टुटेर घर फर्किने अवस्थामा आएको मन्तोरियाले सुनाइन् । यसैले कसरी हस्पिटलको बाँकी ९ लाख बिल तिर्ने, जीवन भरि बाँच्न आफूले उपचार गराउने र कसरी बालबच्चा पाल्ने भन्ने चिन्ताको सागरमा छिन् मन्तोरिया । त्यसैले आफ्नो जीवन र परिवारमाथि कालो बादल मडारिरहेको प्रतित भइरहेको छ उनलाई ।
अस्पतालका व्यवस्थापक संजय मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा अपरेशन भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुबै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड फ्याक्चर भएर तितरवितर भएकाले अप्रेशन गरी दुबैमा स्टिल जडान गरिएको छ । दायाँ हात भाँचिएको छ ।
‘जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्युन थियो । तर हामीले भरपुर प्रयास गरेर सबै अप्रेशन सफल गर्यौ । दुई महिना पश्चात उहाँ अलिअलि हिड्ने, बोल्ने अवस्थामा आउनु भएको छ’ व्यवस्थापक मण्डलले भने । ठक्कर दिने र घरपरिवारले उपचार खर्न तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फँसेको मण्डलको भनाइ छ ।
Sponsored
यसरी दुःखको सागरमा डुबिन् मन्तोरिया
मन्तोरिया र उनको परिवार यस्तो दुर्भाग्यपूर्ण अवस्थामा आउनुमा उनको कुनै दोष छैन । कान्छो साढे तीन वर्षे छोरा उमेशको बालपोषण भत्ताका लागि माघ १२ गते दिउँसो एकलै सबैला बजारको एक बैंकमा खाता खोलाउन पुगेकी थिइन् मन्तोरिया । बैंकमा खाता खोलार अपराहन्न ४ बजे पैदल सडमा आफ्नै साइड हिडेर घर फर्किरहेकी थिइन् ।
सत्तोखर गोबिन्दपुर सडक खण्डमा बाटोमा तिव्रगतिमा पछाडिबाट आएको बा. ६१ प ६६३३ नम्बरको मोटरसाइकलले ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर लागेर ढलेकी उनलाई मोटरसाइकलले ४५ मिटरसम्म घिसारेको थियो । जसका कारण उनको पेटमा ठाउँ ठाउँमा प्वाल पर्यो । केही आन्द्रा काटेर हटाउनेसम्मको स्थिति आयो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई सुरुमा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव छैन भन्दै चिकित्सकले रेफर गरेपछि जनकपुरकै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो ।
मोटरसाइकल धनुषाकै शहिदनगर नगरपालिका १ बेमर्खी टोलका २५ वर्षीय दिपक कुमार रायले चलाइरहेका थिए भने पछाडि सवार थिए स्थानीय ३५ वर्षीय गजेन्द्र यादव । ठक्कर दिने मोटरसाइकलका धनी भने काठमाडौं महानगरपालिका नयाँ बजारका छन् । चालक तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनीहरु फर्केर अस्पताल आएनन् ।
दुर्घटना पश्चात मन्तोरियाकी ससुरा रामप्रसाद ठक्कर दिने मोटरसाइकल, चालक र पछाडि सवारमाथि किटानी जाहेरी प्रहरीमा दर्ता गराएका थिए । अंगभंग मुद्दामा चालक राय जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारमा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झण्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेका छन् । तर अब अन्यत्रबाट आउने सहयोग बाहेक कुनै उपाय छैन । मन्तोरियाको परिवारलाई अस्पतालबाट मुक्त गराउन र परिवार चलाउन कुनै विकल्प नै देखिँदैन । मन्तोरियाले हात जोड्दै सहयोग गरिदिन सबै पक्षसंग गुहार मागेकी छिन् ।
Pingback: ३६ दिनदेखि बिरामी बन्धक राखेको जनकपुर न्यूरो हस्पिटल दर्ता नै नरहेको खुलासा – TodayPati