TodayPati

कोसी नदीले कटान गरेपछि सप्तरीका तीन पालिकामा ‘हाइ अलर्ट’ जारी

टुडेपाटी-
सप्तरी, साउन १९ गते ।

सप्तकोसी नदीमा उच्च पानीको बहावसँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

Sponsored

सप्तकोसी नदीको जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए । सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह गर्नेकाम भइरहेको एसपी काफ्लेले बताए ।

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन् । यसैगरी कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए । बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *