सप्तरीको खडक नगरपालिकाका कर्मचारीले मनलाग्दी लाखौं रकम पेस्की लिएको खुलासा
शुभनारायण यादव-
सप्तरी, साउन १८ गते ।
सप्तरीको खडक नगरपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले मनलाग्दी लिएको लाखौं रकमको पेस्की फछ्र्यौट भएको छैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावलीको नियम ५० बमोजिम कर्मचारीहरुले आर्थिक वर्ष २०७८÷०७९ मा पेस्की लिएको झन्डै २० लाख बराबरको रकम फछ्र्यौट नगरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख गरिएको छ ।
हेल्थ असिस्टेन्ट मो. जाकिर हुसेनले ३ लाख ८३ हजार, कविराज निरीक्षक रामप्रित गैमले २ लाख ४० हजार, रेखाकुमारी चौधरीले २ लाख ७२ हजार ३ सय, सहायक पाँचौ मोइरफान अयुवले ८५ हजार, मो. जियाउल हकले १ लाख ५ हजार, शाखा अधिकृत रमाकान्त चौधरीले २ लाख, कृष्णा कुमार यादवले १० हजार, अमर कुमार यादवले ४० हजार, राम नारायण चौधरीले १ लाख, कंचन भोले जेभी ४५ हजार ५ सय १२, प्राथामिक स्वास्थ्य चौकी कल्याणपुर व्यवस्थापन समितिले ५ लाख गरी १९ लाख ९१ हजार ६ सय १२ रुपैयाँ पेस्की फछ्र्यौट नगरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावालीको नियम ५० मा पेस्की दिइएको रकम तोकिएको म्याद भित्र फछ्र्यौट गर्नु गराउनु पेस्की लिने दिने दुबै थरीको कर्तव्य हुने उल्लेख छ । तर नगरपालिकाको कार्यालयले कर्मचारीहरुलाई विभिन्न बहानामा बाँडिएको पेस्की आर्थिक वर्षको अन्त्यसम्म फछ्र्यौट नभई बाँकी रहेको देखिएको प्रतिवेदनमा भनिएको छ । पेश भएको विवरण अनुसार पेस्की बाँकी ३३ लाख ४ हजार ६ सय १३ रुपैयामध्ये लेखापरीक्षणको क्रममा १३ लाख १३ हजार फछ्र्यौट भई १९ लाख ९१ हजार ६ सय रुपैया फछ्र्यौट गर्न बाँकी रहेको छ ।
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले पेस्की रकम असुल्ने कार्यलाई कडाइकासाथ अगाडि बढाइएको बताए । अभियानकै रुपमा बेरुजु र पेस्की रकम असुल्ने कार्य शुरु गरेको नगरप्रमुख चौधरीले बताउदै कतिपय कर्मचारीहरुले फछ्र्यौट गरी सकेका छन् भने पेस्की राख्ने अन्य कर्मचारी, निर्माण कम्पनी र व्यक्तिहरुलाई पत्रचार गरिसककेको जानकारी दिए ।
Sponsored