जनकपुरमा २ महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीय त्रसित
टुडेपाटी-
जनकपुरधाम,वैशाख ५ गते ।
जनकपुरमा शुक्रबार दिउँसो दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकमा शुक्रबार दिउँसो १ बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन् ।
नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए ।
स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया बजारतर्फ भागेका छन् ।
Sponsored
‘नीलो र हरियो रङको लुगा लगाएका मुस्लिमजस्तै देखिने दुई महिला पैसा फ्याल्दै हिंडेको हामीले देख्यौं, पैसा किन फ्यालेको सोधेपछि दुबैजना कुदे,’ महावीर चाेकका प्रत्यक्षदर्शीले भने ।
स्थानीयवासीकाअनुसार तीन-चारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सडकमा फ्यालिएका केही नोट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानमा सेनेटाइज गरेकाे छ ।
सडकमा रुपैयाँ फ्याल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले रुपैयाँ टिप्ने व्यक्तिहरुको समेत खोजी गरिरहेकाे छ ।
नजिकै रहेको एक घरमा सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Pingback: जनकपुरको बाटोमा पैसा फाल्ने महिलाको फोटो सार्वजनिक, खोजिमा सहयोग गर्न प्रहरीको अपिल – TodayPati