TodayPati

१५ दिनको आन्दोलनपछि आइतबारदेखि विश्वविद्यालयमा भौतिक उपस्थितिमा पढाई हुने

नितेश यादव-
जनकपुरधाम, असोज १४ गते ।

१५ दिनको आन्दोलन पश्चात् जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय क्याम्पसले आन्दोलनरत विद्यार्थीहरुको माग पूरा गरेका छन् । टुडेपाटीसहितका विभिन्न सञ्चारमाध्यममा निरन्तर दबाब मुलक समाचार सम्प्रेषण हुँदै आएपछि करिब १५ दिनको आन्दोलपछि विश्वविद्यालयले आइतबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।

यहीँ असोज १७ गते आइतबारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ । कोरोना महामारीको विषम परिस्थिति कायमै रहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने विश्वविद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

Sponsored

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बीपीएच दोस्रो सेमेष्टर, बीएसी सीएसआइटी दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्णले जानकारी दिए ।

आन्दोलनरत विद्यार्थीले देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन सुरु भइसकेपनि यहाँका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोदकुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा विद्यार्थीलाई कोर्सको तयारी नै नगराई बाहिरका शिक्षकसँग कक्षा सञ्चालन गराइरहेको आरोप लगाएर आन्दोलित भएका थिए ।

आन्दोलनरत विद्यार्थीले चक्काजाम गर्दै जनकपुरधामस्थित व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि र मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतका डिनको कार्यालयमा तालाबन्दी गर्नुका साथै मंगलबार क्याम्पस प्रमुख कर्णसहितको पुतलासमेत दहन गरेका थिए ।

Sponsored

त्यस्तै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका अध्यापन गराउन नआएपछि आफूहरु फेरि आन्दोलनमा उत्रिने कानून संकायमा अध्ययनरत विद्यार्थी आदर्श मण्डलले जानकारी दिए । उनले भने, ‘आइतबारदेखि यूनिभर्सीटीमा हुने भनिएको पढाईमा दक्ष तथा अनुभवी शिक्षक नभए हामीहरु पुनः आन्दोलन गछौं ।’

विश्वविद्यालयमा बेथितिको चाङ : एउटा हल, अर्काे यथावत

राजर्षी जनक विश्वविद्यालयमा करार सम्झौताको माग गर्दै शिक्षकहरु विगत ३९ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । विश्वविद्यालयमा औपचारिक रुपमा पठनपाठन सुरु भएदेखि नै पेपर कोर्ष कन्ट्रयाक्टको रुपमा पढाउँदै आएका शिक्षकहरुले कारार सेवामा नियुक्तिको माग गर्दै धर्नामा बसेका हुन् ।

कोर्ष कन्ट्रयाक्टको नियुक्ति पाएका ३५ जना शिक्षकहरुले पेपर कोर्ष कन्ट्रयाक्ट संघ गठन गरेका छन् । संघले शिक्षकहरुलाई करारको नियुक्ति दिनुपर्ने माग राख्दै भदौ ८ गतेदेखि पठनपाठन नै अवरुद्ध गरी विश्वविद्यालयको मुलगेटमै धर्नामा बसेका छन् । शिक्षकहरु दैनिक विश्वविद्यालयको मुलगेटमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिदैं आएको पेपर कोर्ष कन्ट्रयाक्ट संघका अध्यक्ष दिलीप यादवले बताए ।

विश्वविद्यालयले आफूहरुलाई करार सम्झौता दिने आश्वासन दिए पनि विश्वविद्यालयमा रहेका २६ दरवन्दीमा कुनै प्रक्रिया अगाडि नबढाएपछि शिक्षकहरु आन्दोलित भएका हुन् ।

यता, विश्वविश्वालयका भीसी डा. भरत झाले पेपर कोर्ष कन्ट्रयाक्टमै शिक्षकहरुलाई पढाउनुपर्ने बताए । उनले विश्वविद्यालयमा करार सम्झौता गर्ने ऐन र नियमावलीमा उल्लेख नरहेको बताए ।

विश्वविद्यालयमा खाली २६ दरबन्दीमा चाँडै लोकसेवा आयोगको माध्यमबाट पदपूर्ति व्यवस्थापन गरिने भिसी डा. झाले बताए । तर, पेपर कोर्ष कन्ट्रयाक्टरको रुपमा पढाउने शिक्षक अशोक साहले आफूहरुमाथि विश्वविद्यालयले अन्याय गर्दै आएको दाबी गरे । उनले भने, ‘हामीले स्थापना कालदेखि नै पढाउँदै आएका छौं तर, करार गर्ने विश्वविद्यालयको आफ्नो अधिकार रहेको भए पनि करार सम्झौता गरेको छैन ।’

शिक्षक साहले आफूहरुको एक सुत्रिय माग विश्वविद्यालय प्रशासनले पूरा नगरे आफूहरु आमरण अनसनमा बस्ने चेतावनी समेत दिए । आमरण अनसनमा बस्दा हुने सम्भावित क्षतिको जिम्मा विश्वविद्यालय प्रशासनले लिनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

देशभरका शैक्षिक संस्था खुलेपनि राजर्षि जनक विश्वविद्यालय अनलाइनमै सीमित

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *