देशभरका शैक्षिक संस्था खुलेपनि राजर्षि जनक विश्वविद्यालय अनलाइनमै सीमित
नितेश यादव-
जनकपुरधाम, असोज १२ गते ।
राजर्षि जनक विश्वविद्यालयका आन्दोलनरत विद्यार्थीहरुले जनकपुरमा पुतला दहन गरेको छ ।
भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुनुपर्ने माग गर्दै उनीहरूले जनकपुरको जनकचोकमा क्याम्पस चिफ वीरेन्द्रकुमार कर्ण र उपकुलपति भरत झाको पुतला जलाइएको हो ।
केही दिनदेखि आन्दोलनमा उत्रिएका विश्वविद्यालयका विद्यार्थीहरुले मंगलबार जनकचोकमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा ‘भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर, हाम्रो आन्दोलन जारी छ, क्याम्पसमाथि भारी छ, विद्यार्थी ठग्न पाइँदैन, असक्षम चिफ राजीनामा दे राजीनामा दे’ जस्ता नारा लगाइएको थियो ।
यसअघि गएको शुक्रबार पनि जनकपुरधामस्थित स्थानीय रामानन्दचोकमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले चक्काजाम गरेका थिए ।
Sponsored
कोरोना महामारीका कारण देशभरका बन्द रहेका शैक्षिक संस्थाहरु केही दिन अगाडिदेखि सञ्चालनमा आएपनि राजर्षि जनक विश्वविद्यालयमा अनलाइन कक्षा पढाई भइरहेको आन्दोलनरत विद्यार्थी आदर्श मण्डलले बताए ।
कोरोना भाइरसको दोश्रो लहरमा बन्द रहेका देशभरका स्कूल, कलेज, विश्वविद्यालय खुलिसकेपनि हाल राजर्षि जनक विश्वविद्यालय अनलाइनमै सीमित रहेका कारण आनदोलनमा उत्रिनुपरेको आदर्शको भनाइ छ ।
विश्वविद्यालय भौतिक रुपमा सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाइएको आन्दोलनरत विद्यार्थीहरुले जानकारी दिएका छन् ।
यता क्याम्पस चिफ वीरेन्द्रकुमार कर्णसित विश्वविद्यालयमा भौतिक उपस्थितिमा किन कक्षा सञ्चालन हुन सकेका छैनन् भन्ने बारे प्रतिकृया लिन खोज्दा सम्र्पक हुन सकेनन् ।