झोलासहित मोटरसाइकल चढेर घर फर्किए मन्त्रीबाट पदमुक्त गरिएका सोनल
टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।
प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त गरिएका जितेन्द्र सोनल मोटरसाइकल चढेर मधेस भवनबाट घर फर्किएका छन् ।
सोमबार विहान मधेस भनवस्थित निजी निवासमा उनले सञ्चारकर्मीहरूलाई आफूले गरेका कार्य संक्षिप्त रूपमा सुनाएका थिए । सो क्रममा सहयोगीलाई धन्यवाद दिँदै उनी मधेस भवनबाट बाहिरिएका हुन् ।
करिब सावा तीन वर्षे कार्यकालमा सडक, सिँचाई, दलित उत्थान, महिलाको सम्मान र किसानका लागि उल्लेख्या काम गरेको सोनलले बताए । आफूले प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर पक्की सडक, खेत खेतमे पानी हाथ हाथमे काम, जनता अवास, दलित छात्रावास भवन, जेष्ठ नागरिक अवास लगायतका ऐतिहासिक कामहरू गरेको उनको भनाइ थियो ।

‘प्रदेशको समृद्धिको लागि, नागरिकको अनुहारमा खुशीयालीका लागि, मान और स्वाभिमानका लागि ती कामहरूलाई निरन्तरता दिइने मलाई विश्वास छ,’ उनले भने ।
सावा तीन वर्षे कार्यकालमा सावा तीन दिन समेत आराम नगरी काम गरेको बताउँदै सोनलले अगामी दिनमा समेत दिइने जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै पुरानै जोश जागरका साथ काम गर्ने उल्लेख गरेका छन् ।