TodayPati

कोरोना कोहराम : अस्पतालले गत वर्षमै खर्च गरेको करिब ३ करोड रुपैयाँको भुक्तानी अझै पाएनन्

राझा झा-
जनकपुरधाम, वैशाख १८ गते ।

प्रदेश २ मा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ ।

गत वर्ष बनाइएका क्वारेन्टिन तथा आइसोलेसन बन्द भएपछि दोस्रो लहर सुरु भएसँगै पुनः बनाउने काम सुरु भएको छ । तर, पहिलो लहरमा भने अस्पतालले खर्च गरेको रकमको भुक्तानी अहिलेसम्म हुन सकेको छैन ।

Sponsored

कोरोनाको दोस्रो लहरका लागि आइसोलेसन निर्माणका साथै भेन्टिलेटर तथा अक्सिजन तयारी अवस्थामा राखिँदैछ ।

दोस्रो लहरमा अक्सिजनको अत्यधिक माग बढेकाले प्रदेश सरकारले प्रदेशभर १४ वटा सरकारी अस्पताललाई ५–५ लाख रुपैयाँका दरले ७० लाख दिने निर्णयसमेत गरेको छ । तर, अस्पतालले कोरोनाको पहिलो लहरको समयमा कोरोना नियन्त्रणका लागि गरेका कामको भुक्तानी भने अझै हुन सकेको छैन ।

कोरोनाको पहिलो लहरको समयमा अस्पतालले गरेको आइसोलेसन निर्माण, बिरामीका लागि उपलब्ध गराइएको औषधि, बिरामीको खाना बापतको खर्च, करारमा खटेका स्वास्थ्यकर्मीको जोखिम भत्ता भुक्तानी हुन सकेको छैन ।

Sponsored

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आठ वटै जिल्लामा ०७७ असार मसान्तसम्मका लागि करारमा स्वास्थ्यकर्मीलाई नियुक्ति दिएका थिए । खटाइएका स्वास्थ्यकर्मीलाई पुनः आर्थिक वर्ष ०७७।७८ को पहिलो चौमासिकसम्मका लागि सेवा अवधि थप गर्ने निर्णय गरेको थियो ।

तर, मन्त्रालयले थपेको अवधिको भत्ता भने अहिलेसम्म उपलब्ध गराउन सकेको छैन ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको मात्र २ करोड ९८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । त्यस्तै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका लेखा अधिकृत जितेन्द्रप्रसाद यादवका अनुसार कोरोनाको पहिलो लहरको समयमा खटेका १ सय १२ जना स्वास्थ्यकर्मीको ४ महिनाको जोखिम भत्ता २ करोड १५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

कोरोना महामारीको समयमा आफ्नो ज्यानको परवाह नगरी करारमा खटेका स्वास्थ्यकर्मीको तलब स्केल बराबरको ४ महिनाको जोखिम भत्ता भुक्तानी हुन बाँकी छ ।

त्यस्तै, कोभिड अस्पतालका लागि निर्माण गरिएको आइसोलेसनका लागि भएको खर्चमध्ये ७ लाख रुपैयाँ, बिरामीको औषधि तथा खाना बापतको ७६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

यता, सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जित झाले कोरोनाको पहिलो लहरको समयमा भएका खर्चमध्ये २० लाख रुपैयाँ भुक्तानी हुन नसकेको बताए ।

कोरोनाको पहिलो लहरमा खर्च भएको रकमको भुक्तानीका लागि बारम्बार मन्त्रालयलाई ताकेता गर्दा पनि अहिलेसम्म हुन नसकेको उनको भनाइ छ। पुरानो भुक्तानी बाँकी रहेकोले यसपटक स्वास्थ्यकर्मी करारमा काम गर्न अनिच्छा देखाइरहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत दिलीप दासले भने, ‘सचिवको सरुवा छिटो–छिटो हुने गरेका कारण भुक्तानी हुन समस्या भएको हो ।’

प्रदेश मन्त्रिपरिषद्को बैठकले दरबन्दी सिर्जना गर्नुपर्ने भएपनि पूर्वनिर्धारित दरबन्दीअनुसार करार अवधि समाप्त भइसकेपछि थप गरिएको समयावधिका लागि मन्त्रिपरिषद् बैठकले दरबन्दी अनुमोदन नगरेको लेखा अधिकृत दासको भनाइ छ ।

यस सम्बन्धमा आफूहरूले प्रतिवेदन तयार गरी बुझाइसकेकाले मन्त्रिपरिषद्को बैठकबाट यसको टुंगो लाग्ने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *