सिरहा बम विस्फोट अपडेट : घटनास्थलमा गोइत समूहको हस्ताक्षरसहितको पर्चा फेला
टुडेपाटी-
सिरहा, चैत १ गते ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा फेला परेको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो ।
विस्फोटक पदार्थ रहेको झोलामै उक्त पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा अध्यक्ष तलातिर जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।
विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भैरहेको सिरहाको डीएसपी तपन दहालले बताए ।
‘घाइते यादवलाई हेलिकप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदैछौं’, उनले भने, ‘अहिलेसम्मको जानकारी अनुसार उनको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएकाछौं ।,’ घाइते यादवसहित तीन जनाको उपचार लहान अस्पतालमा भइरहेको डीएसपी दहालले बताए ।
बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
Sponsored
बम बिस्फोटमा परी ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कार्यालयका नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ नगरपालिका १३ का भोला बहादुर पाछे मगर,सोही नगरपालिका ४ का दिनेश कुमार भण्डारी, गोलबजार नगरपालिका ४ कि फुल कुमारी ठाकुर,सोही नगरपालिका ६ कि बेचनी मगर, लक्षमि नारायण मगर, लहान नगरपालिका १६ तरेगना का लाल बहादुर बिक र भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादव रहेका छन् । घाइतेमध्ये २ जना मालपोत कार्यालयकै कर्मचारी छन् । कार्यालयको दोस्रो तलामा प्रेसर कुकर बम विस्फोट भएको डीआईजी सिंहले बताए ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।