सप्तरीमा एक महिलासहित विभिन्न अभियोगका ३ अभियुक्त जेल चलान
शुभ नारायण यादव-
सप्तरी, पुस २३ गते ।
जिल्ला अदालत सप्तरीले एक महिलासहित विभिन्न अभियोगका तीन जना अभियुक्तलाई जेल चलान गरेका छन् । चार वर्षअघि कुटपिट अंगभंग मुद्दामा संलग्न भई फरार रहेकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुन कारागार चलान भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवानाको फैसला सुनाएपछि उनी फरार भएकी थिइन् ।
घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
डीएसपी साहका अनुसार गाउँकै मो. मुर्तुजा मिया तथा उनका परिवारको सदस्यमाथि भएको सांघातिक आक्रमणपछि प्रहरीले कुटपिट अंगभंग मुद्दा चलाएपछि अदालतले तोकेको सजाय भुक्तान नगरी फरार भएकी थिइन् । सोही घटनाका अन्य केही आरोपित अझै फरार रहेको र खोजी कार्यजारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
यस्तै एक महिनाअघि भएको सवारी अंगभंग मुद्दाका फरार अभियुक्त सिरहाको लहान नगरपालिका १८ निवासी डम्बर नारायण चौलागाईँ कारागार चलान भएको हो । उनलाई प्रहरीले एकदिन अगाडि मात्र घरबाटै पक्राउ गरेको थियो ।
Sponsored
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा चौक नजिकै गत मंसिर २१ गते चेकजाँचमा खटिएका प्रहरी सहायक निरिक्षक हिमबहादुर खतिवडालाई स ७प २५८० नम्बरको मोटरसाइकल चढेका चौलागाइँले ठक्कर दिई गम्भीर घाइते बनाई फरार भएका थिए ।
यस्तै, लागुऔषध मुद्दाका अभियुक्त सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ निवासी २८ वर्षीय भरत सुतिहार पनि कारागार चलान भएका छन् । गत कात्तिक १ गते स ७ प १८६५ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा महुली–महदेवा सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका सुतिहारमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउँदा अदालतको फैसलामा बिहीवार पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।