सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज धनुषा यज्ञ
टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते ।
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज धनुषयज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी सित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेश्रो दिन प्रत्येक वर्ष जनकपुरमा धनुष यज्ञ आयोजन हुने गर्छ ।
जसमा रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने गरिन्छ । आज अपराहन्न धनुषा यज्ञ आयोजन गरिएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।
रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । र त्यसपछि सीतासंग रामको विवाह भएको धार्मिक मान्यता छ ।
सप्ताहव्यापी विवाहपञ्चमीको दोश्रो दिन हिजो सोमबार साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपमा फूलबारी लिला मनाइएको थियो । जहाँ पहिलोपटक राम र सीताको पहिलो भेट भएको र त्यही सिताले आफूलाई राम बर नै पाउने कामना गरेको धार्मिक विश्वास छ ।
त्यस्तै पहिलोदिन आइतबार सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन गरिएको थियो । आज धनुषा यज्ञ सकिएपछि भोलि चौथो दिन बुधबार तिल्कोत्सव रहेको छ ।
पाँचौदिन बिहीबार राम र जानकीको मटकोर, छैटो दिन शुक्रबार विवाहको मुख्य दिन विवाहपञ्चमी रहेको छ । सातौं दिन शनिबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
Sponsored