धनुषा : झडपमा इन्सपेक्टरको टाउको फुटेपछि ५ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
खोलामा भेटेको सालको काठको विषयमा झडप हुँदा इन्सपेक्टर घाइते भएपछि पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार १० बजे राति धनुषाको बटेश्वर गाउँपालिका वडा नंं ५ शान्तिपुरमा औहरी खोलामा भेटेको सालको काठ लैजाने विषयमा गाउँले र प्रहरी बिच झडप भएको थियो ।
झडपमो क्रममा गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दीपक राय र प्रहरी जावन रामविश्वास पण्डित घाइते भएका थिए भने प्रहरीको लाठीचार्जबाट एक महिला सहित ३ जना स्थानीय समेत घाइते भएका छन् ।
इन्सपेक्टरको निधारमा फुटेपछि उनलाई ६ वटा टाँका लागेको छ । सोही घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले सोमबार दिउँसो दुई महिलासहित पाँचजना गाउँलेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिपुरका स्थानीय रधियादेवी सदा, रञ्जिता देवी राउत, निराजन राउत, अञ्जय सदा र फुलगेन सदा रहेका छन् । घटनाको विषयमा अनुसनन्धान र रोधपुछका लागि पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रले टुडेपाटीलाई जानकारी दिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमै राखिएको छ । स्थनीय औरही खोलामा दाउरा खोज्ने क्रममा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले सखुवा काठको गोलिया भेटेको थिए । राति सोही गोलिया ट्याक्टरमा लोड गरेर गाउँलेले लैजान लागेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले सो काठ नियन्त्रणमा लिन खोजेपछि प्रहरी र गाउँलेबिच झडप भएको थियो ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रमेश बस्नेतसहितको टोली घटनास्थल पुगेका थिए ।
Sponsored