प्रहरी हिरासतमा युवकको मृत्यु शंकास्पद, छानविनको माग
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
मानवअधिकारकर्मीहरुले हत्या आरोपमा प्रहरी हिरासतमा मृत्यु भएको विजय राम महराको घटना शंकास्पद रहेको ठहर गरेको छ । एडभोकेसी फोरम, इन्सेक, थर्ड एलायन्स र ओरेक नेपालले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै विजयको मृत्यु शंकास्पद देखिएकाले उच्च स्तरीय छानविन गर्न माग गरेका छन् ।
राज्यको नियन्त्रणमा रहेको अवस्थामा विजयको मृत्यु हुनु, उनको बाहिर आएको फोटोहरुमा शरिरमा यातना दिएको डामै डाम, घाँउ चोटपटक देखिनु तथा परिवारका सदस्यहरुले समेत प्रहरीवाट हात्या भएको आरोप लगाउनुले घटना शंकास्पद रहेको ठहर गर्दै आफुहरुको ध्यानकर्षण भएको बताएको छ ।
गएको साउन ३१ गते रौतहटको गरुडा नगरपालिका ८ का २० वर्षीय निरञ्जन राम घाँटी रेटेर हत्या भएको आरोपमा स्थानीय १९ वर्षीय विजय राम महरासहित ७ जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो । पक्राउ परेका ७ जना मध्ये विजयको उपचारको क्रममा बुधबार राति वीरगञ्ज स्थित नेश्नल मेडिकलमा मृत्यु भएको छ ।
एडभोकेसी फोरम प्रदेश २ का संयोजक महासेठ, इन्सेकका प्रदेश २ संयोजक राजु पासवान, थर्ड एलायन्सका प्रदेश संयोजक विनो महरा र ओरेक नेपाल धनुषाकी संयोजक रोजलिन बछारले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारसंग विजयको मृत्यु प्रकरण घटनालाई उच्चस्तरीय छानविनसहित चार सुत्रिय माग गरेका छन् ।
मृतकको पोस्टमार्टम मृतक परिवारको उपस्थितमिा विश्वसनिय वातावरणमा विशेषज्ञहरुको टोलीबाट गर्नु पर्ने, घटनाको निष्पक्ष र स्वतन्त्र छानवीन तथा अनुसन्धान गर्नका लागी उच्च स्तरीय छानवीन समिति गठन गर्नुपर्ने, मृतक परिवारलाई न्यायको प्रत्याभूती हुने गरी व्यवस्थापन गराउनु पर्ने र मृतक परिवारलाई उचित क्षतिपुििर्त उपलव्ध गराउन पर्ने लगायतको चार सुत्रिय माग गरेको हो ।
Sponsored
प्रहरी हिरासतमा भएको यस्तो घटनाहरुले समाजमा असुरक्षाको भावना बढेकोप्रति राज्यलाई गम्भीर हुँदै जनताको जीउधनको सुरक्षा तथा बाँच्न पाउने हकको प्रत्याभूति गर्न आग्रह गरेका छन् ।