छोराले भिडियो खिच्दा बुबालाई शौचालयमा थुन्ने महागढीमाईका मेयर विरुद्ध प्रहरीमा जाहेरी
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन ८ गते ।
छोराले भिडियो खिचेको निहुमा बुबालाई कुटपिट गर्दै शौचालयमा थुन्ने बराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । पीडित महागढीमाई नगरपालिका २ बरियारपुरका महेन्द्र भन्ने ५५ वर्षका हरेन्द्र महतोले बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा मेयर यादव विरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
मेयर यादव विरुद्ध भेदभाव तथा अपमान जन्य व्यवबहार सम्बन्धी मुद्दा दर्ता गराएको पीडित महतोका छोरा मुकेश कुशावाहाले जानकारी दिए । गएको सोमबार बिहान स्थानीय अधुरा नाला निरीक्षणको क्रममा मेयर यादवले दिएको प्रतिक्रियाको मुकेशले भिडियो खिच्ने क्रममा उनलाई रोकेर हप्काएका थिए । मेयरयादव गएपछि एकजना अन्यको मोबाइलमा भिडियो अपालोड गर्दै टिप्पणी गर्दा मेयरले नगरप्रहरी खटाएर मुकेशलाई ल्याउन भनेका थिए ।
मुकेश घरमा नभेटाएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई नगरप्रहरीले पक्राउ गरी नगरपालिका कार्यालयमा पुर्याएका थिए । मेयरले आफ्नो जुत्ता निकालेर टाउकोमा राख्न भन्दा हरेन्द्रले अस्वीकार गरेपछि उनलाई झापट हिर्काउँदै आधा घण्टा शौचालयमा थुनेर दुब्र्यबहार गरिएको थियो ।
सोहि घटनामा न्यायको माग गर्दै मुकेशका बुबा हरेन्द्रले जिल्ला प्रहरी कार्यालय बारामा मेयर विरुद्ध जाहेरी दर्ता गराएका हुन् ।