विराटनगरका ७७ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु
टुडेपाटी-
विराटनगर, साउन १९ गते ।
विराटनगरमा एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर–५ का ७७ वर्षीय एक वृद्धको सोमवार मृत्यु भएको हो ।
ती वृद्ध आज बिहान १० बजे कोशी अस्पतालमा उपचारका लागि गएका स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मधुमेह र उच्च रक्तचाप भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोशी अस्पताल आएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले बताए ।
स्वाब लिएर कोशीको आइसोलेसनमा उपचाररत उनको आज दिउँसो सवा ३ बजे मृत्यु भएको थियो । कोरोना रिपोर्ट आउनुअघि नै उनको मृत्यु भएको प्रमुख बस्नेतको भनाइ छ ।
उनको ट्राभल हिस्ट्री नभएको बताइएको छ । मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको बताइएको छ ।
मोरङमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि सुनवर्षीमा १ जनाको मृत्यु भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १४२ पुगेको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेकाे छ ।
Sponsored