जलेश्वरमा भोलिदेखि निषेधाज्ञा जारी
टुडेपाटी-
जनकपुरधाम, साउन १५ गते ।
कोरोना संक्रमण फैलिनथालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा निषेधाज्ञा लागू हुने भएको छ ।
बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार राति ११ बजेदेखि सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा नं. २ र ५ मा पाँचदिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
जलेश्वर सदरमुकामको पूर्व भार्गवसर कुट्टी, पश्चिममा रावि क्याम्पस, उत्तरमा नेपाली सेनाको प्रकौली व्यारेक र दक्षिणमा रातोपुलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउन लागेको समितिले जनाएको छ । यस्तै महोत्तरी गाउँपालिकाको वाडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागु हुने छ ।
एकसाता अघि महोत्तरी गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमण पुरुषको उपचारको क्रममा धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धरानमा मृत्यु भएको थियो। उनको शव व्यवस्थापनमा खटेका तीनजना नेपाली सेना, दुईजना मृतकका परिवारका सदस्य र पाँचजना छिमेकलाई कोरोना संक्रमण भएपछि संक्रमण फैलिन नदिन प्रशासनले यस्तो निर्णय लिएको जनाएकाे छ ।
यस्तै वडा नं. ५ मा ज्वरोको लक्षण भएका बिरामीहरु धमाधम फेला पर्न थालेपछि कोरोनाको आशंकामा उक्त वडालाई पनि निषेधाज्ञा गर्ने समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
Sponsored
निषेधाज्ञा गरिने क्षेत्र भित्रमा अति आवश्यक बाहेक सबै कार्यालय र सेवाहरु बन्द रहने जनाइएको छ। संक्रमण फैलिन नदिन यी क्षेत्रहरुमा निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाइ छ ।