विद्यालयमा पढाइ हुने, क्वारेन्टाइन र आइसोलेसन खाली गरिने
टुडेपाटी-
काठमाडौं, साउन १५ गते ।
सरकारले विद्यालय सञ्चालनको तयारी सुरु गरेको छ ।
यसअघिको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरिसकेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन खाली गर्ने भएको हो ।
भर्नासहित शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि मन्त्रालयले सात बुँदे निर्देशन समेत जारी गरेको छ ।
जसअनुसार शैक्षिक सत्र ०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न भनिएको छ, भने भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउउन निर्देशन दिइएको छ ।
नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुनुपर्ने भएपनि सरकारले कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि अन्यौल बनेको थियो ।
Sponsored
अब भदौ १ गतेदेखि भर्ना खोल्न निर्देशन दिइसकिएको अवस्थामा मन्त्रालयले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउन निर्देशन दिएको छ ।
त्यसैगरी, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालननका लागि शिक्षकलाई विद्यालय पुग्न भनिएको छ ।
विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नेछ ।
अब विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन बनाइने छैन । क्वारेन्टाइन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउनु पर्नेछ ।
‘विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने,’ निर्देशनमा भनिएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा सार्वजनक गरेपछि सोहीअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्ने जानकारी दिए ।