वीरगञ्जमा कोरोनाबाट थप २ जनाको मृत्यु
टुडेपाटी-
वीरगञ्ज, साउन १५ गते ।
प्रदेश २ मा कोरोनबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचारत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको हो ।
दुबैजनाको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताएका छन् ।
दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिए ।
वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा. उपाध्यायका अनुसार उनी मिर्गौला रोगी समेत हुन् ।
त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको उनले जनाए ।
उनलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो ।
Sponsored
यो संगै हालसम्म प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १४ पुगेको छ भने देशभरिमा ५१ पुगेको छ ।