पुर्व सभामुख महरा–रोशनी बलात्कार काण्ड : आज अन्तिम फैसला आउँदै
टुडेपाटी
काठमाडौँ,फागुन ५ गते ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज फैसला सुनाइँदै छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराविरुद्ध मुद्दाको सुनुवाइ आइतबारै सकिएपछि आज अन्तिम फैसला आउन लागेको हो ।
आइतबारै फैसला सुनाउने तयारी गरिएकामा अन्तिम समयमा रोकेर सोमबारका लागि सारिएको थियो ।
महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।
त्यसपछि न्यायाधीश पौडेल फैसला टाइपिङमा ढिलाइ भएकाले सोमबार फैसला सुनाउने भन्दै साँझ साढे ५ बजे अदालतबाट बाहिरिएका थिए।
अब फैसला आज सुनाइने काठमाडौं जिल्ला अदालतका सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिए । महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ।