महोत्तरीको पिपरा गाउँपालिकामा तालाबन्दी, अध्यक्ष र कर्मचारी भित्रै थुनिए
टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।
महोत्तरीको पिपरा गाउँपालिकाको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले भ्रष्टाचार गरेको र सूचना लुकाएको भन्दै उनीहरुले शुक्रवार तालाबन्दी गरेका हुन् ।
२० बुँदे माग राख्दै केहीदिनअघि बुझाएको ज्ञापन पत्रमाथि सुनवाइ नभएको जसपाको आरोप छ ।
तालाबन्दीपछि गाउँपालिका अध्यक्षसहित कर्मचारी केहीबेर कार्यालयभित्रै थुनिएका थिए । कार्यालयमा तालाबन्दी गर्ने क्रममा ठूलो संख्यामा जसपाका कार्यकर्ता पुगेका थिए।
पिपरामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ। जसपाले गाउँपालिकामा डिपिआर तयार पार्न, राहत वितरणलगायतमा भ्रष्टाचार भएको दाबी गरेको छ।
Sponsored
यसैगरी जाडो महिनामा गरिब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको जसपाको आरोप छ। जाडो महिनामा स्वेटर, कम्बललगायत लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको छ।
एक महिनाअघि ज्ञापन पत्र बुझाए पनि गाउँपालिका अध्यक्ष विक्रम चौधरीले सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ता पाँच दिनदेखि कार्यालय अगाडि धर्ना दिँदै आएका थिए ।
गाउँपालिका अध्यक्ष चौधरीले भने जसपाले लगाएको सम्पूर्ण आरोप निराधार रहेको दाबी गरे।
‘बोर्ड र गाउँसभामा जसपाकै बहुमत छ, ७५ प्रतिशत उपभोक्ता समितिको अध्यक्षमा उहाँहरु नै हुनुहुन्छ,’ अध्यक्ष चौधरीले भने ‘भ्रष्टाचार भएको भए प्रमाण देखाउनु प¥यो ।’
गत आर्थिक वर्षमा सञ्चालन भएका सम्पूर्ण योजना र कार्यक्रमको लेखा परीक्षण भइरहेको भन्दै उनले सकिए लगत्तै सबै हरहिसाब सार्वजनिक हुने बताए।