प्रदेश २ सहित ६ प्रदेशमा फेरी भारी वर्षाको सम्भावना
टुडेपाटी-
जनकपुरधाम, साउन ९ गते ।
लगातारको वर्षापछि समान्य बन्दै गएको मौसम फेरी बदलिन थालेको छ । मनसुनी वायु सक्रिय रहेकाले अहिले मुलुकका विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।
आज देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा दिउँसो भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Sponsored
आज राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।