प्रदेश २ मा बाढीको कहर : ६९ परिवार बिस्थापित, २ जना बगेर बेपत्ता
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
लगातार तीनदिनदेखिको वर्षाले प्रदेश २ का आठवटै जिल्लाका विभिन्न स्थानहरु डुबानमा परेको छ ।
वर्षाले प्रदेशका सबै नदीनालामा बाढी समेत आएको छ । बाढीले केही वस्ती समेत डुबानमा परेको छ भने केही व्यक्ति बेपत्ता समेत भएका छन् ।
बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाका ६९ परिवार विस्थापित भएको बताइएको छ । बाढीका कारण महोत्तरी र सर्लाहीमा एक एक जना गरी २ जना नदीमा बगेर वेपत्ता भएका छन् ।
रौतहटको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय सुकमानी थिङ बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनलाई मंगलबार बिहान बगाएको छ ।
Sponsored
यस्तै, महोत्तरीमा रातु नदी पार गर्न खोज्दा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महोत्तरीकै भंगहा नगरपालिका ६ संग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापर छन् ।
साइकलसहित नदी पार गर्न खोज्दा उनी बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सर्लाही सदरमुकाम मलंगवा नगरपालिका– ५ मा लखनदेही खोलामा बाढी बस्तीमा पस्दा २७ परिवार विस्थापित भएका छन् ।
सर्लाहीकै लालबन्दी नगरपालिका–४ स्थित जर्वा खोलाको बाढीले १ घर, चक्रमटा गाउँपालिका– ५ ढेग्रा खोलाले १८ परिवारलाई विस्थापित गरेको छ ।
रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित झाज खोलामा आएको पानीले २३ घर विस्थापित भएको प्रदेश प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार घरमा पानी पसेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् ।
कोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ र ९ का १ सय ५० परिवारको घरमा पानी पसेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।