सप्तरीमा लकडाउनको उलंघन, पालना गर्नेहरु समेत जोखिममा
शुभ नारायण यादव-
सप्तरी, साउन ५ गते ।
दिनहु कोरोना संक्रमित ठूलो संख्यामा फेला पर्न थालेपछि भारतको विहार राज्यमा पुनः १६ दिनका लागी लकडाउन घोषणा गर्दै विहार सरकारले कडाई गरेको छ । तर, विहार राज्यसंगै सिमाना जोडिएको सप्तरीमा भने लकडाउनको व्यापक उलंघन हुन थालेको छ ।
मास्क नलगाईकन हुलका हुल मानिस निस्कने तथा समाजिक दुरी कायम नगरी एकै ठाँउमा भीडभाड हुन थालेपछी कोरोना संक्रमणको जोखिम बढाएको छ । लकडाउनको पालना गर्न ठाउँ ठाउँमा सचेतनामूलक व्यानर पनि राखिएको छ तर, अधिकाँशले सोको वेवास्ता गरेको पाइएको छ ।
सरकारको निर्णय अनुसार स्थानीयवासीले भारतबाट घर फर्कनेहरुलाई एक मात्र आधिकारीक नाका कुनौलीलाई तोकेको छ । प्रहरीले त्यसमा कडाई गरिएको र सो नाकाबाट आउनेहरुलाई सोझै क्वारेन्टाईनमा राखिने गरिएको बताईरहेको छ । तर, भारतको विहार राज्यसंग जोडिएको ७२ किलो मिटर लामो खुला सिमाका कारण प्रहरीको आखाँ छलेर लुकिछीपी मानिसहरु आउनेक्रम अहिले पनि कायमै रहेको सीमावर्ती क्षेत्रका वासिन्दाहरुको भनाई छ ।
मास्क नलगाई जिल्ला भित्र चल्ने गरेका सिटी रिक्सामा यात्रा गर्नेहरुको समेत संख्या अध्याधिक रहेको तथा बजार, कार्यालय र पसलहरुमा एकै ठाउँमा भीडभाड बढेका कारण संक्रमणको जोखिम उच्च रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाको भनाई छ । उनले यही रवैया रहे संक्रमणको अवस्था भयावह हुने भन्दै सबैलाई आवश्यक सर्तकता अपनाउन र यस तर्फ ध्यान दिन सचेत समेत गराएका छन् ।
सरकारले भिडभाड नगर्न गरेको आग्रहको अवज्ञा गर्दै होटल, रेस्टुरेन्ट, चिया पसल, पान पसल, कार्यालय लगायतका ठाउँमा मानिसहरुको जमघट हुने क्रम निरन्तर बढिरहेको छ । मास्क नलागाईकन नजिकै वसेर गफ गर्ने परम्परा बढ्दै गएका कारण संक्रमणको जोखिम अभैm बढेको हो । बुधवार मात्र जिल्लामा १३ जना नयाँ संक्रमित फेला परेको थियो । यो संगै जिल्लामा विहिवार सम्ममा संक्रमितको संख्या ३ सय ४४ पुगेको छ ।
Sponsored
लकडाउन उलंघनले गर्दा त्यसको पालना गर्ने समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीले लकडाउनको पालना गराउन स्थानीय प्रशासनले कडाई गर्नु पर्ने आवश्यकतामा जोड दिएका छन् ।