बाराको देवताल गाउँपालिकामा जनप्रतिनिधिसहित ४६ जनामा कोरोना संक्रमण
टुडेपाटी-
बारा, साउन ५ गते ।
बाराको एक गाउँपालिकामा आज मात्रै ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु देवताल गाउँपालिकाको रहेको खुलेको छ । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
उनले भने गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन् । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । संक्रमित हुनेमा ६ जना वडा अध्यक्ष, ३ जना कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरू रहेको गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र ठाकुरले जानकारी दिए ।
उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिएको ठाकुरले बताए । उनका अनुसार संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । देशभर कोरोना संक्रमितको संख्यामा कमी आएको बताइरहँदा एउटै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ ।