सप्तरीमा कोरोनाबाट ज्यान गुमाएका बृद्धको परिवारका सबैजनाको रिपोर्ट पोजेटिभ
टुडेपाटी-
सप्तरी, साउन ४ गते ।
सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका बृद्धसंगै नेपालमा मृतकको संख्या ४० पुगेको छ । मृत्यु पश्चात बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।
उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो ।
सप्तरी सदरमुकाम राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।
राजविराज नगरपालिका ६ का अध्यक्ष प्रेम यादवका अनुसार मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।
घर र्फकेपछि गत मंगलबार ७२ वर्षीय बृद्वलाई साँस फेर्न गाह्रो हुँदा उपचारका लागि धरान लगिएको थियो । तर, धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Sponsored
बिहीबार राति ८ बजे कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो ।
उनको पसलका कर्मचारीको समेत स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको वडाध्यक्ष यादवले बताए । तर उनीहरुको रिपोर्ट आइसकेको छैन् ।