ओलीको बोलीपछि पर्साको ठोरीमा सिमास्तभ उखेलियो, रामको जन्मस्थल भन्दै भव्य पुजा सुरु
टुडेपाटी-
वीरगंज, साउन ४ गते ।
प्रधानमन्त्री ओलीले रामको जन्म स्थान पर्साको ठोरी गाउँपालिकास्थित रहेको अयोध्यामा भएको अभिव्यक्तिपछि नेपाल र भारतबीच फेरी विवाद बढ्दै गएको छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि एकाएक चर्चामा आएका ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ ।
प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालका अनसार शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो ।
त्यो दिन भारतीय सीमा सुरक्षाबल (एसएसबी) का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ–आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केको उनले बताए । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको उनको भनाइ छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए ।
Sponsored
गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए । प्रहरी निरीक्षक दाहालका अनुसार करिब एक हात बराबर गहिरो बनाएर गाडिएको थियो ।
सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताए ।
प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो ।