प्रधानमन्त्री ओलीको अभिव्यक्तिको असर : भारतमा एक नेपालीलाई शीर मुण्डन गरी दुव्र्यवहार
टुडेपाटी–
जनकपुरधाम, साउन २ गते ।
भगवान रामको जन्मस्थलको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतमा एक नेपाली युवकमाथि दुर्व्यवहार भएको छ । भारत उत्तर प्रदेशको वाराणसीको गंगा किनारमा विश्व हिन्दू सेनाका कार्यकर्ताले ती नेपाली युवकको शिर मुण्डन गर्दै जय श्रीराम लेखिदिएको घटना सार्वजनिक भएको हो ।
शीर मुण्डन गर्दै उनीहरुले जय श्री रामको नारा लगाउँदै नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ । यो घटनापछि प्रहरीले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई लिएर सहरका प्रबुद्ध व्यक्तिले निन्दा गरेका छन् ।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले यो घटनाको सम्बन्धमा उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको ट्विटरमा जानकारी दिए ।
यो घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सङ्गठनका कार्यकर्ताले नेपालका प्रधानमन्त्रीले आफ्नो बयानको सम्बन्धमा माफी नमाग्दासम्म यस्तो घटना दोहो¥याइ रहने बताएका छन् । सहरको मन्दिर, घाट र इलाकाभरि जहाँ–जहाँ नेपाली बस्दै आएका छन्, त्यहाँ–त्यहाँ चेतावनी दिने पोस्टर टाँसेका छन् ।
Sponsored
सङ्गठनका राष्ट्रिय अध्यक्ष अरुण पाठकले नेपालका प्रधानमन्त्रीको बयान अपरिपक्व र निन्दनीय भएको जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार भानु जयन्तीको अवसरमा बोल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको तर्क गरेका थिए । प्रधानमन्त्री ओलीले अयोध्या पर्सा जिल्ला चितवन ठोरीमामा राम जन्मेको दावी गरेका थिए ।