भारत : बिहारमा फेरी १५ दिनको लकडाउन घोषणा, उल्लंघन गर्नेलाई कार्वाही हुने
टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।
भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्ने क्रम नरोकिएपछि राज्य सरकारले आफु अनुुकुल लकडाउन बढाउँदै गएको छ ।
संक्रमण फैलन नरोकिएपछि भारतको बिहार राज्यमा फेरी लकडाउन घोषणा गरिएको छ । बिहारका उपमुख्यमन्त्री सुशीलकुमार मोदीले बिहीबार जुलाई ३१ सम्मका लागि लकडाउन गरिएको जनाएका हुन् ।
बिहीबार घोषणा गरिएको लकडाउन सम्पूर्ण जिल्लामा लागू हुने राज्य सरकारले जनाएको छ । सरकारका अनुसार लकडाउन अवधिमा सरकारी तथा निजी कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुनेछन् ।
सरकारको निर्देशिकाअनुसार राजधानी पटना क्षेत्रमा यातायात सेवा पनि लकडाउन अवधिमा सम्पूर्ण रूपमा बन्द गरिने जनाइएको छ । अटोरिक्सा चालकलाई पूर्णरूपमा लकडाउनको पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गरेको खण्डमा कारबाही गरिने जनाइएको छ । त्यसैगरी, वर्कसप तथा मोबाइल मर्मत केन्द्रसमेत बन्द गरिएका छन् ।
Sponsored
त्यसैगरी, जुलाई ३१ सम्म सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि बन्द रहनेछन् । मन्दिर तथा धार्मिक स्थलहरुमा पुजारीलाई दैनिक कर्म पूजा गर्न अनुमित दिइएको जनाइएको छ ।
व्यापारिक मल, सिनेमा हल, पौडी पोखरीहरु, व्यायामशाला, तालिम केन्द्रका साथै खेलकुद तथा सांस्कृतिक केन्द्रहरु पूर्णरूपमा बन्द गरिएको छ । लकडाउन अवधिमा औद्योगिक क्षेत्र तथा निर्माण कार्य भने सामाजिक दूरी कायम गरी सञ्चालन गर्न अनुमति दिइएको छ । त्यस्ता क्षेत्रमा खटिने मजदुर तथा अन्य व्यक्तिले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने जनाइएको छ ।
त्यसैगरी, कृषिसँग सम्बन्धित क्रियाकलाप तथा पसलहरुका साथै राजधानी बाहिरका क्षेत्रमा ट्याक्सी तथा अटोरिक्सालाई स्थानीयस्तरमा सञ्चालन गर्न दिइनेछ । त्यसैगरी होटल तथा रेस्टुराँमा सामाजिक दूरी कायम गरी खुला गर्न दिइने जनाइएको छ ।
सरकारको घोषणाअनुसार रेल तथा हवाई यातायात सुचारु रहनेछ । रक्षा, केन्द्रीय सशस्त्र प्रहरी फौज, पेट्रालियम पदार्थका डिपो तथा बिक्री केन्द्र, विपद् व्यवस्थापन, ऊर्जा, हुलाकलगायत सेवासँग सम्बन्धित कार्यालयले सेवा प्रदान गर्ने जननाइएको छ ।
बिहारमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिइरहको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म बिहारमा कोभिड–१९ संक्रमितको संख्या २० हजार ६ सय १२ पुगेको छ ।
तीमध्ये १३ हजार ४ सय ६२ जना निको भइसकेका जनाइको छ । हालसम्म बिहारमा १ सय ८० जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् । कोभिड–१९ संक्रमितका आधारमा भारत विश्वकै तेस्रो स्थानमा छ ।
बिहीबार साँझसम्म भारतमा ९ लाख ६८ हजार ८ सय ७६ जना संक्रमित भइसकेका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ६ लाख १२ हजार ८ सय १५ जना निको भइसकेका छन् ।
सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय ४० पुगेको छ । १० हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा निको हुने १ लाख ५२ हजार ६ सय १३ जना छन् ।
त्यसैगरी, दोस्रो प्रभावित तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८ सय २० संक्रमित भएकामध्ये २ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । तमिलनाडुका १ लाखभन्दा बढी निको भएका जनाइएको छ ।
दिल्ली राज्यमा हालसम्म कोभिड–१९ बाट १ लाख १६ हजार ९ सय ९३ जना संक्रमित भइसकेका छन् ।