TodayPati

सप्तरीमा पार्टी खुवाएर साथीको हत्या, सातजना पक्राउ

रासस-

सप्तरी, साउन १ गते ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा एक जनाको हत्या भएको छ ।

Sponsored

शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा सात जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन ।

हत्याको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।

सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका–३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेला परेको थियो । शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

Sponsored

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा राम र स्थानीय रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो । छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो ।

छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका रामले आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका–३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए । सोही बेलादेखि राम बेपत्ता थिए ।

अर्को तर्फ २०७४ फागुन २७ गतेको सामूहिक बलात्कारको घटनामा रामको उजुरीका आधारमा गाउँका चार जना कारागारमा छन् । उनीहरुलाई जनही १० वर्ष कैद सजायको फैसला भएको छ । अन्य दुई जनाको हकमा मुद्दा मुल्तबीमा छ ।

प्रहरीले जग्गा विवादका पक्ष, बलात्कारको मुद्दामा कैदमा परेका पक्ष र सँगै रक्सी खाएका साथीलाई अनुसन्धानको दायरामा लिएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *