सिरहामा ५ लाख कमिसन रकमसहित मेयरका छोरा रंगेहात पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।
कमिसनको रकम सहित सिरहाबाट दुइजना पक्राउ परेका छन् ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले मेयरका छोरा सहित दुइ जनालाई कमिसन रकम सहित रंगेहात पक्राउ गरेको हो ।
कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई पाँच लाख कमिसन रकमसहित बुधबार पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको टोलीले मेयर मण्डलका छोरा सन्त र स्थानीय जितेन्द्र महतोलाई लहान–२२ स्थित राजदेवी चोकबाट पक्राउ गरेको छ।
नगरपालिकाले सम्पन्न गरेको डीपीआरको भुक्तानी दिन सेवाग्रहीसँग ५ लाख रुपैयाँ कमिसन लिन मेयर मण्डलले छोरालाई पठाएका थिए। सेवाग्रहीसँग पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा सन्तलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।
Sponsored
मेयर मण्डलले पाँच लाख कमिसन मागेको सूचना प्राप्त भएपछि अख्तियारको टोली त्यहाँ पुगेको बताइएको छ।
पक्राउ परेका सन्त र जितेन्द्रलाई अख्तियारको बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।
कमिसन रकमसहित छोरा पक्राउ परेपछि अख्तियारको टोलीले मेयर मण्डलसँग सम्पर्क गर्न खोजेको थियो। तर, मेयर मण्डल सम्पर्कमा आउन नचाहेको अख्तियारको टोलीमा सहभागी एकजनाले जनाएका छन्।
Hard punishment to the Son of the mayor